नगर प्रमुखकाे ठाडाे आदेशमा ओली समुहमा लाग्ने तीन कर्मचारीलाई बर्खास्त

 

जाजरकाेट, फागुन २० । केपी ओली समुहमा आवद्ध नभएको भन्दै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीको ठाडो निर्देशनमा तीन जना कर्मचारीलाई बर्खास्त गरिएको छ। केपी ओली समुहका केन्द्रीय सदस्य रहेका मेयर घर्तीले नगरपालिकामा कार्यरत एमआईएस अपरेटर पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई मंगलबार बर्खास्त गरेका हुन्।

प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले उठाएको टिप्पणी मेयर घर्तीले सदर गरेका छन्। कर्मचारी बर्खास्त गर्दा अधिकृतले सदर गर्नुपर्ने भएपनि मेयर आफैँले सदर गरेका छन्। तीन जना कर्मचारीलाई सोधिएको पत्रमा भनिएको छ, ‘तपाईंहरु प्रचण्ड र माधव समुहको प्रेस संगठन कर्णाली प्रदेश सदस्य रहेको कारण किन बखास्त नगर्ने ?’ तीनै जनाले आफूहरु कुनै पक्षमा नलागेको तर विगत देखि नै प्रेस संगठनमा रहेको जवाफ पठाएका थिए। आफूहरु प्रेस संगठनमा रहेपनि काममा बाधा नपारेको पत्रमा उल्लेख गरेका छन्।

पवन शर्मालाई केपी ओली गुटको जाजरकोटको संयोजक बनाएर बधाइ दिएका मेयरले त्यसको एक हप्ता पछि प्रचण्ड र माधव गुट निकट पत्रकारको कर्णाली प्रदेश सदस्यमा तीनै जना कर्मचारीको नाम देखेपछि बर्खास्त गरेका हुन्। निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले बिहीबार एक विज्ञप्ति जारी गरी राजनीतिक आस्थाकै आधारमा कर्मचारी बर्खास्ती गर्नु राम्रो नभएको बताउदै तुरुन्त यो कारवाही फिर्ता गर्न आग्रह गरिएको छ।


SHARE THIS