च्याम्पियन्स लिग : पोर्टोविरुद्ध युभेन्टसलाई जित्नैपर्ने दबाब

 

काठमाडाैं, फागुन २५ । क्रिस्टियानो रोनाल्डोले पुनरागमन गर्ने खेलमा युभेन्टस जित्नैपर्नै दबाबमा छ। च्याम्पियन्स लिगअन्तर्गत नकआउट चरणको पहिलो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग २–१ ले पराजित भएपछि युभेन्टसका लागि दोस्रो लेग गर या मरको अवस्थामा छ।  

त्यसैले आज राति पाैने २ बजे आफ्नो घरेलु मैदान एलिएन्जमा युभेन्टस अघिल्लो संस्करणको जस्तै इतिहास दोहोर्‍याउने ध्याउनमा हुनेछ। तर चुनौती भने सहज छैन। 

यद्यपि इटालिनय जाइन्टलाई रोनाल्डोको पुनरागमनले उत्साह भने थपेको छ। प्रशिक्षक आन्द्रे पिर्लो रोनाल्डोको आगमनले टिमले पुनरागमन गर्नेमा विश्वस्त छन्।

अघिल्लो सिजन पनि एट्लेटिको म्याड्रिडसँग पहिलो लेगमा २–० ले पराजित भएको युभेन्टसलाई दोस्रो लेगमा रोनाल्डोलेनै ह्याट्रिक गर्दै समग्रमा ३–२ को जित दिलाएका थिए। यो पटक पनि पोर्टोविरुद्ध रोनाल्डो चम्किने अपेक्षा युभेन्टसले लिएको छ।

युभेन्टसले च्याम्पियन्स लिग फुटबलमा पोर्टोविरुद्ध दुई पटक होम खेलमा जित निकालेको छ। यसअघि अक्टोबर २००१ मा ३–१ को जित निकालेको थियो भने मार्च २०१७ मा १–० ले घरेलु मैदानमा जित निकालेको थियो। 

पोर्टो १३ अवे खेलमा जितविहीन रहेकाले यो पटक उक्त खराब इतिहास तोड्ने ध्याउनमा हुनेछ। अवे खेलमा चार खेल बराबरी गर्दा ९ खेलमा पराजित भएको छ। 

यही समयमा आज जर्मन क्लब बोरुिसया डर्टमुन्ट र सेभिल्ला पनि आमनेसामने हुँदैछन्। यसअघि घरेलु मैदानमा सेभिल्ला डर्टमुन्टसँग ३–२ गोल अन्तरले पराजित भएको थियो। आज राति डर्टमुन्टको घरेलु मैदानमा हुने खेलमा सेभिल्ला दबाबमा हुनेछ। 


SHARE THIS