दाङमा बैशाख २६ देखी जनगणना सुरु हुने


दाङ, चैत १९ । पछिल्लो अबस्थाको जनगणना तयार पार्न दाङमा आगामी बैशाख २६ गते देखी काम थालिने भएको छ । जिल्ला जनगणना कार्यालय दाङले घोराहीमा जिल्ला स्तरीय सचेतना कार्यक्रमको आयोजना गरि जनगणना तयार पार्ने विषयमा जानकारी दिएको हो ।

जिल्ला जनगणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरि जनगणनाका बिषयमा कार्यालयले जानकारी दिएको हो ।

जस अनुसार आगामी बैशाख २६ गते देखी जेठ १४ गते सम्म घरपरिवारको सूचिकरण, जेठ २५ गते देखी असार ८ गते सम्म गणकहरुबाट मूल गणना गर्ने र जेठ २५ देखी असार ८ गते सम्म सामुदायिक क्षेत्रको लगत संकलन गर्ने कार्यतालिका रहेको कार्यालय प्रमुख तुलसीराम पोख्रेलले जानकारी दिनुभयो ।

प्रत्येक घरमा पुगेर व्यक्ति तथा घरको तथ्यांक संकलन हुने उहाँको भनाई छ । अर्को तर्फ सामुदायिक संस्थाहरुको विबरण भने वडा कार्यालयहरुको समन्वयमा संकलन गर्ने र सडक, मन्दिर, आश्रम तथा घर बाहिर बस्नेहरुको भने जो जहाँ भेटिन्छ त्यही गणना गर्ने कार्य योजना रहेको समेत उहाँले बताउनुभयो ।

सत्य र तथ्य तथ्यांकले मात्रै आर्थिक, सामाजिक, भौतिक, राजनितिक विकासको नीति बनाउन सकिने भएकाले नै जनताको गणना गर्न लागिएको कार्यालय प्रमुख पोख्रेलको भनाई छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले जनसंख्या र भौतिक अबस्थाको एकिन नभए सम्म विकासको कामलाई अघि बढाउन नसकिने बताउनुभयो ।

यथार्तपरक तथ्यांक भए मात्रै सन्तुलित विकास हुने उहाँको भनाई छ । सहि तथ्यांक ल्याउने तर्फ कर्मचारी परिचालन र व्यवस्थापनमा बिषेश ध्यान दिन समेत उहाँले आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सहि तथ्यांकले मात्रै चौतर्फि विकासको योजना बनाउन मद्धत पुग्ने बताउनुभयो । नागरिकहरुले पनि सहि सुचना दिनुपर्ने र खटिने कर्मचारीले आबस्यक सबै विबरणहरु संकलन गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।


SHARE THIS