नेपालमा अहिलेसम्म १५ लाख बढीले कोरोनाविरुद्धको खोप लगाए

 

दाङ, चैत्र १ । कोरोना विरुद्धको खोप अभियान शुरु भएपछिको डेढ महिनामा १५ लाखभन्दा बढीले कोभिसिल्ड खोप लगाएका छन । सरकारले ल्याएको २३ लाख ४६ हजार डोज खोपमध्ये अहिलेसम्म १५ लाखले खोप सेवा लिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतको सेरम कम्पनीबाट खरिद गरेकोबाट १० लाख, भारतले अनुदानमा दिएको १० लाख र कोभ्याक्सबाट अनुदानमा पाएको तीन लाख ४६ हजार गरी सरकारले २३ लाख ४६ हजार डोज जुटाएको थियो ।

अब सरकारसँग आठ लाख ४६ हजार डोज खोप मौज्दात छ । सेरमले अझै १० लाख खोप दिन बाँकी छ । त्यसबापत तिर्नुपर्ने ५० करोड रुपैयाँ सरकारले भुक्तानी गरिसकेको छ । रकम लिएर पनि सेरमले समयमा आपूर्ति नगर्दा खोप अभियान पनि प्रभावित भएको छ ।

कोभ्याक्स सुविधाले कुल जनसंख्याको २० प्रतिशत अर्थात् झन्डै एक करोड ३० लाख डोज दिने प्रतिबद्धता गरेको थियो । पहिलो चरणमा भने २२ लाख ४६ हजार डोज दिन सूची सार्वजनिक गरे पनि जम्मा तीन लाख ४६ हजार खोप मात्रै उपलब्ध गराएको थियो ।


SHARE THIS