ओली समूहका यी ७ नेतालाई दाहाल-नेपाल समूहले गर्‍यो कारबाही

 

काठमाडाैं, फागुन १९ । दाहाल–नेपाल समूहको नेकपाको केन्द्रीय कमिटी बैठकले ओली समूहका ७ जना नेतालाई कारबाही गरेको छ । पार्टी हित विपरीत गतिविधि गरेकाले प्रचण्ड–नेपाल समूहको बैठकले ओली समूहका महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए । उनीहरुलाई केन्द्रीय समिति सदस्यबाट निलम्बन गरेको हो ।

 

बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी आचरण विरुद्धको काम गरेको भन्दै सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, महेश बस्नेत, विशाल भट्टराई, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।बैठकले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलाई पनि पदमुक्त गर्ने निर्णय गरेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने स्थायी कमिटीको निर्णयलाई अनुमोदन समेत गरेको छ ।

 

त्यस्तै, सो बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको छ । आफूहरुको पक्षमा झण्डै दुई तिहाई केन्द्रीय सदस्य रहेको दाबी गर्दै आएको यो समूहले पार्टीको आधिकारिकता र चुनाव चिन्ह आफूहरुलाई नै दिनुपर्ने माग निर्वाचन आयोग समक्ष गर्दै आएको छ । बहुमत केन्द्रीय सदस्य रहेकै कारण आफूहरुले गरिरहेको गतिविधि आधिकारिक भएको समेत यो समूहको दाबी छ ।


SHARE THIS