प्युठान जिल्लाको सिमानामा ग्याङ फाइट, २ जनाको मृत्‍यु

 

दाङ, चैत १६ । बागलुङ को बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच ग्याङ फाइट हुँदा दुई जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, बागलुङका अनुसार मृत्यु हुनेमा बडिगाड गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई रहेका छन् । मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्य समेत हुन् ।

दुवैको शव दर्लिङको बल्देधुरी भीरमा ५ सय मिटर तल खसेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए ।

दुई युवा समूहबीच झडप हुँदा हताहती हुन पुगेको थियो । गुल्मी, बागलुङ र प्युठानको समेत सीमा बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप भएको हो ।

स्थानीयका अनुसार दिउँसो रक्सी खाएर गाउँमा गएका निसीखोलाको समूहले भानुमाविको भवन बनाउँदै गरेका ठेकेदार र स्थानीय युवालाई कुटपिट गरेपछि विवाद उत्पन्न भएको थियो ।

दिउँसो करिब चार बजेतिर घटना भएको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको छ ।

उक्त झडपमा अन्य केही पनि घाइते भएका प्रहरीले जनाएको छ । तर, कति जना घाइते भएका छन् भन्ने यकिन हुन सकेको छैन ।

स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।


SHARE THIS