दाङमा ६ लाख ५५ हजारलाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने लक्ष्य

 

दाङ, चैत्र १९ । दाङमा ११ औँ चरणमा भोली देखी हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु हुन लागेको छ । यसवर्ष जिल्लाका ६ लाख ५५ हजारभन्दा धेरै नागरिकलाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने लक्ष्य लिईएको छ ।

स्वास्थ्य कार्यालय दाङले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरेर यस पटक ६ लाख ५५ हजार ७ सय ६१ जना नागरिकलाई औषधी खुवाउने लक्ष्य राखिएको जनाएको हो । जसको लागी ५ सय ५४ जना स्वास्थ्यकर्मी र ९ सय ३३ महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरिने छ ।

शिक्षित बर्गहरुले नै औषधी नखाँदा दाङमा हात्तिपाईले रोग बिरुद्धको अभियान प्रभावित भएको भन्दै हात्तिपाईले रोगबाट बच्न सबैले औषधी शेवन गर्नुपर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीको अध्यक्षतामा गरिएको कार्याक्रममा भोली देखी ३१ गते सम्म चल्ने अभियानमा सहभागी भएर हात्तिपाईले रोग विरुद्धको औषधी शेवन गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । गत पुस ६ गते स्वास्थ्य कार्यालयले दाङका २ हजार ५ सय ४२ जनामा परिक्षण गर्दा १ सय ५८ जनामा हात्तिपाईले रोगको संक्रमण देखिएको थियो ।

गत बर्ष दाङमा ६५ प्रतिशत नागरिकहरुले मात्रै औषधी खाएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य कार्यालय दाङका फोकलपर्शन कमल चन्दले नागरिकलाई स्वस्थ र निरोगी बनाउन सरकारले औषधी खुवाउने अभियान ल्याएकाले सबैलाई औषधी सेवन गर्न आग्रह गर्नुभयो ।


SHARE THIS