बलात्कारको झुटो उजुरीमा सजाय पाएकी महिला ‘ब्ल्याकमेलिङ’ आरोपमा पक्राउ

 

काठमाडौं, चैत्र ५ । बलात्कारको झुटो उजुर गर्ने महिला ‘ब्ल्याकमेलिङ’ गरेको कसुरमा पक्राउ परेकी छिन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० घर भएकी लालसरी शाहीलाई काठमाडौंबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए । 

३७ वर्षीया लालसरीलाई जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो उजुर गरेको ठहर गर्दै ३ वर्ष ६ महिना कैद हुने फैसला गरेको छ ।  लालसरी र उनकी साथी ३७ वर्षकी कल्पना हमाल मिलेर ‘समस्यामा परेको’ बहाना बनाएर कोटेश्वर बस्ने पुरुषलाई सुन्धारास्थित होटलमा बोलाए । होटलमा एकजनाले पुरुषसँग अँगालो मार्ने र हात समात्ने गरेको भिडियो अर्कीले खिचेका थिए । सो भिडियो ‘भाइरल बनाउँछौं’ भनेर उनीहरुले ब्ल्याकमेलिङ गरेको एसएसपी खापुङले बताए । 

प्रहरीले लालसरीसँगै वीरेन्द्रनगर नगरपालिका–१० घर भएकी कल्पना हमाललाई पनि पक्राउ गरेको छ । गत असोज ६ मा वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी खेमराज शर्माविरुद्ध लालसरीले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् । सो उजुरीलाई अदालतले ‘झुटो’ ठहर गरेको छ । 

सुन्धारामा ‘हनी ट्रयाप’मा पारेका पुरुषसँग उनीहरुले ३ लाख २ हजार ५ सय लिएका छन् । थप ८ लाख मागेपछि ती पुरुषले अपराध महाशाखामा उजुरी गरेका थिए ।  भिडियो खिचेर ब्ल्याक मेल गर्ने लालसरी यसअघि ज्यान मुद्दामा ७ वर्ष जेल बसेर निस्केको थाहा भएको एसएसपी खापुङले बताए । 


SHARE THIS