मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम : कृषकलाई प्राङ्गारीक मल बनाउने तालिम

 


दाङ, फागुन १८ । दाङको दंगीशरण गाउँपालिकामा कृषकहरुलाई प्राङ्गारीक मल बनाउने तालिम दिइएको छ। रासायनिक मलको प्रयोगलाई विस्थापन गर्ने उदेश्यका साथ गाउँपालिकाको ७ वटै वडाका कृषकलाई प्राङ्गारीक मल बनाउने तालिम दिइएको हो ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत प्राङ्गारीक खेतीलाई अबलम्वन गरौँ भावि सन्ततिको जीवन रक्षा गरौँ भन्ने मान्यताका साथ गाउँपालिका भित्रका ४० जना कृषकलाई दुई दिने तालिम दिइएको छ ।

तालिम पश्चात ४० जना कृषकहरुलाई मल बनाउनका लागि एक एक वटा स्प्रे ट्याङ्की, ड्रम र शुस्म जीवाणु मल (ईएम) समेत दिइएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता श्रीधरराज भण्डारीले जानकारी दिनुभयो । अब तालिम सिकेका कृषकहरुले अन्य कृषकहरुलाई समेत प्राङ्गारीक मल बनाउने सिकाउने छन् ।

दुई चरणमा भएको तालिममा सहभागी हुनुभएकी सांसद धमकली चौधरीले मुख्यमन्त्री ग्रामिण बिकाश कार्यक्रमले कृषकका लागि प्रभावकारी कार्यक्रम संचालन गरेको भन्दै यसलाई ब्यवहारमा लागु गर्न आवश्यक रहेको बताउँनुभयो ।

दंगीशरणमा कृषि क्षेत्र फस्टाउनका लागि कृषकहरुको सहजताका लागि गाउँपालिकाले यस प्रकारको कार्यक्रम ल्याउँन पहल गरेको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बताउनुभयो । “माटोलाई खुवाए मात्र खान पाईन्छ,” अध्यक्ष चौधरीले भन्नुयो ।

दाङको १० वटै पालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनमा रहेको छ । गाउँपालिकामा ६० लाख, नगरपालिकामा ७० र उपमहानगरमा ८० लाखको कार्यक्रम सञ्चालन भइरहेको छ ।


SHARE THIS