सभामुखसँग छलफल गरेर संसदको आसन टुग्याउँछौं : भीम रावल

 

काठमाडौं, फागुन १९ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संसद्मा कहाँ बस्ने भन्ने विषयबारे सभामुख अग्नि सापकोटासँग छलफलपछि मात्र तय हुने जनाएको छ।

बैठकपछि नेकपा स्थायी समिति सदस्य भीम रावलले सभामुखसँग छलफल गरेपछि मात्रै आफूहरू संसद्मा सत्ता पक्ष कि प्रतिपक्षमा बस्ने निर्णय हुने बताए। पेरिस डाँडामा बुधवार बसेको केन्द्रीय समिति बैठकमा भएको छलफलका निर्णयहरू सार्वजनिक गर्दै नेता रावलले यस्तो जानकारी दिएका हुन्।

उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नै सरकार छ। सदनभित्र कहाँ बस्ने कुरा सभामुखसँग छलफल भएपछि निर्धारित हुन्छ।’ बैठकले पटक-पटक आग्रह गर्दा पनि निर्वाचन आयोगले आफ्नो पार्टीलाई आधिकारिकता दिन ढिलाइ गरेकोप्रति खेद व्यक्त गरेको छ। उक्त विषयमा नेता रावलले ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर भएको बताए।

उनले भने, ‘नेकपाको केन्द्रीय कमिटीको अत्यधिक बहुमतबाट निर्णय गरी पार्टीको आधिकारिकताको सम्बन्धमा अविलम्ब निर्णय गरिदिन पटक-पटक हामीले निर्वाचन आयोगमा निवेदन दिएका थियौँ। तर पनि हाम्रो पक्षमा केन्द्रीय कमिटीको अत्यधिक हुँदाहुँदै नेपालको कानुन बमोजिम माग गर्दागर्दै पनि अहिलेसम्म स्पष्ट निर्णय नआएकोमा बैठकले खेद प्रकट गरेको छ।’

तत्काल राज्यको कानुन, नेकपाको विधान अनुसार निष्पक्ष र न्यायसंगत निर्णय गर्न बैठकले पुनः माग गरेको रावलले जानकारी दिए।


SHARE THIS