भोलि सार्वजनिक हुँदैछन् विप्लव

 

काठमाडौं, फागुन २०। प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक हुने भएका छन्। सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार भएको तीनबुँदे सहमतिपछि उनी सार्वजनिक हुने भएका हुन्।

बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिपत्रका सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन्। सहमतिको विस्तृत विवरण भने शुक्रबार दिउँसो आयोजना हुने विशेष कार्यक्रममा सार्वजनिक गरिने भएको छ।

भोलि हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बधोन गर्नेछन्। सरकारले विप्लव नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसयता विप्लव भूमिगत रहँदै आएका छन्। बिहीबार सरकारसँगको ३ बुँदे सहमतिपति उनी सार्वजनिक हुने भएका हुन्।

सहमतिमा चन्द समूहले आफ्ना हिंसात्मक प्रदर्शन रोक्दै शान्तिपूर्ण रुपमा राजनीतिक क्रियाकलापहरू अगाडि बढाउने उल्लेख भएको संयुक्त विज्ञप्तिमा जनाइएको छ। त्यस्तै विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध र उक्त नेकपाका नेता कार्यकर्ता रिहाइ गर्ने तथा मुद्दा खारेज गर्ने पनि सहमतिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन्।’


SHARE THIS