नेपाल सुपर लिग : मार्की खेलाडी र कोच सार्वजनिक

 

काठमाडाैं, चैत्र ५ । आगामी महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) लागि काठमाडौं रेजर्सले मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गर्दा विराटनगर सिटीले मार्की खेलाडी र धनगढी फुटबल क्लबले प्रशिक्षक घोषणा गरेका छन्। 

काठमाडौंमा बिहीबार भएका छुट्टाछुट्टै कार्यक्रममा विभिन्न शहरको प्रतिनिधित्व गर्ने क्लबले मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गरेका हुन्। काठमाडौं रेजर्सले राष्ट्रिय टोलीका गोलकिपर विकेश कुथुलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गर्दा नेपाललाई साफ च्याम्पियनसिपमा स्वर्ण पदक दिलाएका बाल गोपाल महर्जनलाई प्रशिक्षकको रुपमा सार्वजनिक गरेको हो। सार्वजनिक भएसँगै टोलीका मार्की खेलाडी विकेश र प्रशिक्षक बालगोपाल महर्जनले टोली राम्रो बनाएर अगाडि बढाउने प्रतिबद्धता जनाए।

आजै विराटनगर सिटीले राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मिडफिल्डर रञ्जित धिमाललाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो। एक कार्यक्रम गरी विराटनगरले धिमाललाई सार्वजनिक गर्दा प्रशिक्षक चाहि विदेशबाट ल्याउन पहल भइरहेको जानकारी दियो।

यस्तै धनगढी एफसीले बिहीबार आफ्ना प्रशिक्षकका रूपमा नाइजेरियाली तोपे फुजालाई नियुक्त गरेको घोषणा गर्‍यो। मनाङ मर्स्याङ्दीले २०७५ मा सहिद स्मारक लिग ए डिभिजन जिताउन भूमिका खेलेका फुजालाई नियुक्त गरेको हो।

गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढीले नियुक्त गरेको फुजाले सन् २००५ बाट आफ्नो प्रशिक्षण खेल जीवन सुरु गरेका थिए। धनगढीले यसअघि आफ्ना मार्की खेलाडीका रूपमा विशाल राईलाई नियुक्त गरिसकेको छ। चितवनले पनि मेघराज केसीलाई प्रशिक्षकको रुपमा सार्वजनिक गर्दा स्ट्राइकर भरत खवासलाई मार्की खेलाडी घोषणा गरेको छ। 

योसँगै प्रतिस्पर्धा गर्ने ७ टोलीमध्ये पाँच टोलीले मार्की खेलाडी सर्वाजनिक गरेका छन्। बुटवल र पोखराले सार्वजनिक गर्न बाँकी छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग वैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनका आधारमा हुनेछ।




SHARE THIS