ज्ञानज्योति स्कूलको बस दूर्घटना लगतै फरार चालक सरोज पक्राउ

 

दाङ, चैत ११ । हिजो दूर्घटनामा परेको तुलसीपुरस्थित पब्लिक ज्ञानज्योति स्कूलको बसका चालक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बन्नै निवासी २८ बर्षीय चालक सरोज बिकलाई आज सोही वडाको पर्सेनी क्षेत्रबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबहादुर सिंहले जानकारी दिनुभयो ।

गाउँमा कलेजका बिद्यार्थी लिन गएको बस तुलसीपुर १६ सरैया चोकमा रा १ क ४३३ नम्बरको बस दूर्घटनामा परेपछि चालक बिक फरार भएका थिए ।

पक्राउ परेका चालक बिकले प्रहरी समक्ष गाडी तिब्र गतिमा नभएको र चिप्लिएर दूर्घटनामा परेको बयान दिएको डिएसपी सिंहले बताउनुभयो । तर, घाइते विद्यार्थीले भने तीब्र गतिका कारण बस दूर्घटनामा परेको जानकारी दिएका छन् ।

२९ जना घाइते मध्य १७ बर्षीय किरण चौधरीको काठमाडौंमा, १७ बर्षकै रोमहर्ष भण्डारी र २० बर्षीया अस्मिता डाँगीको बाँकेमा उपचार भइरहेको छ । अन्य सबै घाइते उपचार पछि डिस्चार्ज भइ घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।


SHARE THIS