आर्थिक अभावका कारण जोखिम मोल्दै कोइलाखानी पस्नुपर्ने बाध्यता

 

दाङ, चैत्र २ । आर्थिक अभावका कारण जोखिम मोल्दै कोईलाखानी पस्नुपर्ने दाङको बंगलाचुली गाउँपालिका वडा नं . २ फलिटेका ४३ वर्षीय टोपबहादुर विकको बाध्यता छ । विकले २०५३ सालबाट गाउँकै कोइलाखानीमा काम गर्दै आउनु भएको छ ।

कमजोर आर्थिक अवस्थाका विकको घरपरिवारको दैनिकी खानीले नै धानेको छ । विकले आफ्नो जवानीको सयम सबै कोइलाखानीमै बिताई सक्नुभयो । उहाँसँगै कोईलाखानी पसेका साथीभाइ कति खानीमै पुरिएर मरिसके उहाँ भन्नु हुन्छ,-‘भाग्यले मलाई केही भएको छैन । हुन पनि नहोस्, भगवनासँग यही प्रार्थना छ ।

बोरामा कोइला बोकेर बाहिर आए पचास रुपैयाँ पाईन्छ बोरासँगै भित्रै पुरिए जीवन सखाप हुन्छ, आधा उमेर खानीमै बिताउनुभएका विकले भन्नु भयो । कोईलाखानी भित्रै पसे सास फेर्न धौ हुने र कहिले खानी भत्किन्छ कि भन्ने डर हुने गरेको उहाँको भनाई छ ।

ज्यान माया मारेर पसिन्छ र ज्यानै माया मारेर निस्किने हो । कतिबेला भत्किन्छ र पुर्छ त्यो थाहा हँदैन । तैपनि आर्थिक अवस्था कमजोर भएकै कारण खानी छोड्न नसकिएको उहाँको भनाई छ ।

जवानीमै खानीभित्र थाले पनि उहाँले अझै उक्त काम छोड्न सक्नुभएको छैन् । छोडेर पनि के गर्नु, अरु उपाय केही छैन, खाए पनि खानीले खाला भन्दै उहाँ कोईलाखानीमै काम गर्न बाध्य हुनुहुन्छ । मजदुरको जीवन रक्षाका लागि खानी मालिकदेखि सरकारसम्मले केही गर्न नसक्दा अकालमै खानी मजदुरहरुले जीवन गुमाउनु पर्ने दुखेसो उहाँले पोख्नुभयो ।

यो कामबाट हाम्रो जीवनपछि बालबच्चाको भविष्य नै छ । धेरैलाई खानीले खायो, हामीलाई कतिबेला खाने हो । हामीलाई खानीले खाए, हाम्राले के खाने हुन् भन्ने चिन्ता लाग्छ’-विकले खानीको कोइलामा जलेको पीडा यसरी पोख्नुभयो ।

खानी मजदुरहरुको जीवन सुरक्षाका लागि कसैले केही गर्न नसक्दा यिनै पीडा बोकेर बाँच्नु परेको उहाँले बताउनुभयो ।


SHARE THIS