टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला

 

गुल्मी, फागुन १७  टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो । शवको पहिचान खुल्न नसकेको उाँहले बताउनुभयो ।

सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता हुनुभएको थियो। भेटिएको शव उहाँकै हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थनीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

डीएसपी पाण्डेका अनुसार बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको हो । शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ ।

सम्झनाको माइती पक्ष घटनास्थलमा अझै नपुगेकोले शवको पहिचान भने हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो। 


SHARE THIS