प्युठान अस्पतालमा सुत्केरी मृत्यु घटना : किन आन्दोलित छन् डाक्टर?

 

प्युठान । शल्यक्रिया मार्फत् प्रसूति गराइएकी एक महिलाको अवस्था जटिल बनेपछि प्युठान अस्पतालले थप उपचारका लागि अर्को अस्पतालमा रिफर गर्‍यो। अर्को अस्पतालमा अर्को लैजाने क्रममा ती सुत्केरीमा बाटोमै मृत्यु भयो।

त्यसपछि मृतकको शव लिएर आफन्त पुनः प्युठान अस्पतालमा फर्किए र उपचारमा लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा विरोध प्रदर्शन गरे।

आफन्तको विरोधपछि आइतबार अस्पताल तनावग्रस्त बन्यो। आफन्तको विरोध कार्यक्रमबाट उत्पन्न तनाव साम्य पार्न उपचारमा संलग्न चिकित्सकहरुलाई माफी  माग्न लगाइयो। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु बिना गल्ती आफूलाई माफी माग्न लगाइएको भन्दै सोमबारदेखि आन्दोलनमा उत्रिए।

‘हामीलाई माफी माग्न लगाएर मृतकका आफन्तलाई क्षतिपूर्ति दिनु भनेको हामीले गल्ती गरेको भन्ने बुझियो, तर हामीले गल्ति गरेका छैनौं,’ उपचारमा संलग्न प्रसूती रोग विशेषज्ञ डाक्टर शिशिर कुँवरले भने, ‘हामीलाई अपमानजनक व्यवहार गरियो। त्यसैले सेवा बहिस्कार गरेका हौं।’ उनले चिकित्सक र स्वास्थ्यकर्मीले अस्पतालमा उपलब्ध स्रोत र साधनले सक्ने उपचार सेवा दिएको बताए।

स्थानीय प्रशासनले घटनाको यथार्थ नबुझी अस्पताललाई नै दोषी देखाउन खोजेको र असुरक्षा महसुस भएको भन्दै प्युठान अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सोमबारदेखि अनिश्चितकालिन रुपमा आकस्मिक बाहेकका सेवा नै बन्द गरेका हुन्।

स्थानीय सरोकारवाला निकायले स्वास्थ्यकर्मीलाई सुरक्षा दिन नसकेकाले लिखित माफी माग्दै अस्पतालका सम्पूर्ण कर्मचारीको सुरक्षाको प्रत्याभूत गरी भविष्यमा यस्ता घटना नदोहरिने लिखित प्रतिवद्धता जनाउनुपर्ने माग राख्दै चिकित्सकरु आन्दोलनमा उत्रिएका हुन्।


SHARE THIS