ज्वाँईलाई अध्यक्ष बनाएको भन्दै मुख्यमन्त्री पोखरलेको आलोचना

 

दाङ, माघ २० । भूमि समस्या समाधान आयोग दाङको अध्यक्षमा शिवकुमार आचार्य नियुक्त हुनु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ निवासी आचार्यलाई भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा माघ १५ गतेको बसेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।

आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका ज्वाँई हुनुहुन्छ । ज्वाँइलाई भूमि आयोगको अध्यक्ष बनाएको भन्दै मुख्यमन्त्री पोखरेलको आलोचना भएको छ ।

मुख्यमन्त्री पोखरेलकी पत्नि सुजिता शाक्य जनजाती कोटाबाट समानुपातिक सांसद रहनुभएको छ । प्रधानमन्त्री केपी ओलीनिकट नेता पोखरेलले आफ्नै बहिनी मेनका पोखरेललाई विभाजित नेकपा ओली समुहको केन्द्रीय सदस्य बनाउनुभएको छ । भने दाई देवी पोखरेललाई विभाजित हुनुभन्दा अगाडि नेकपा घोराही उपमहानगरको इन्चार्ज पनि बनाउनुभएको थियो ।

तत्कालीन नेकपा एमाले दाङका अध्यक्ष हाल प्रचण्ड–माधव समुहमा रहेका जोगबहादुर रानाले सामाजिक संजाल फेसबुकमा मुख्यमन्त्री पोखरेलमाथी कटाक्ष गरी लेख्नुभएको छ । ‘देख्यौ त ताकÞत । आफू मुख्यमन्त्री, श्रीमती सांसद्, दाई उप–महानगरको अध्यक्ष, बहनिीलाई हालै नेकपाको केन्द्रीय सदस्य, ज्वाइँलाई भूमी तथा सुकुम्बासी दाङको अध्यक्ष, गणतन्त्र कस्लाई आएको रहेछ ?’

आयोगको दाङ जिल्ला समितिको सदस्यमा हेमराज पुनमगर र विज्ञ सदस्यमा रेमन्त चौधरी नियुक्त हुनुभएको छ । मन्त्रीपरिषद बैठकले दाङसहित ७७ वटै जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको छ । जिल्लामा अध्यक्ष र २ सदस्य गरी तीन जना र देशैभरी ७७ वटै जिल्लामा २३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो ।

यस्तै रोल्पामा जिल्ला अध्यक्ष प्रेमबहादुर घर्ती, सदस्यमा लोकेन्द्र बहादुर घर्ति र विज्ञमा कृष्णीकुमारी गौतम नियुक्त हुनुभएको छ । सल्यानमा अध्यक्ष लोक बहादुर डाँगी, सदस्यमा कुन्ती बस्नेत र विज्ञमा कविराम चन्द, प्युठानमा अध्यक्ष मोहन बहादुर जिसी, सदस्यमा विष्णु बहादुर केसी र विज्ञमा रामबहादुर केसी नियुक्त हुनुभएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगको केन्द्रीय अध्यक्ष देवी ज्ञवाली रहनुभएको छ । आयोगका जिल्ला पदाधिकारीको शपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने तय भएको छ ।


SHARE THIS