धारापानी जोड्ने बवई पुल निर्माणको काम अन्तिम चरणमा


 दाङ, फागुन ११ । घोराही उपमहानगरपालिका वडा नं. ५ मा यस क्षेत्रको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा पाण्डवेश्वर धाम धारापानी रहेको छ । घोराहीबाट त्यहाँपुग्दा पर्ने बवई नदीमा पुल नहुँदा समस्या परिरहेको थियो । सोही क्रममा केही बर्षअघि देखि निर्माण थालिएको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

पुल निर्माणको काम सम्पन्न भएपछि धारापानीमा अहिलेको भन्दा बढी चहलपहल हुने विश्वास गरिन्छ । सडक डिभिजन कार्यालय दाङका अनुसार पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुल बनाउने काम अन्तिम भए संगै बाटो सम्याउने तथा अन्य आवश्यक थोरै काम बाँकी रहेको बताइएको छ ।

हाल करिव ८५ प्रतिशत काम सम्पन्न भैसकेको सडक डिभिजन कार्यालयका सुचना अधिकारी इन्जिनियर अमिर सुवेदीले जानकारी गराउनुभयो । २०७४ साल असार २८ मा सम्झौता भएको पुल निर्माणको काम दिवा यति विल्डर जेवी सातदोबाटो ललितपुरले जिम्मा पाएको छ । इन्जिनियर सुवेदीका अनुसार २०७७ असोज २० गते सम्म काम सक्नुपर्ने सम्झौता थियो ।

कोरोनाका कारण छ महिना म्याद थप भएको थियो । थप समय संगै चैत २० गते सम्म पुल निर्माणको काम सक्नुपर्ने छ । तोकिएको समयमानै पुल निर्माणको काम सम्पन्न हुने सडक डिभिजन कार्यालयको भनाई छ ।

“पुल निर्माणको काम करिव अन्तिम चरणमा पुगेको छ, अव केही थोरै काम मात्र बाँकी छ, आगामी बर्षात सम्म आवतजावत गर्ने गरी तयारी भैसक्छ, सुवेदीले भन्नुभयो”। पुल निर्माणका लागि १३ करोड ३१ लाख ५५ हजार रुपैँया बजेट बिनियोजन गरिएको थियो । हाल सम्म नौ करोड १२ हजार सात सय ४७ रुपैँया निकासा भएको छ ।

कार्यालयका अनुसार पुल निर्माण सम्बन्धि वित्तिय प्रगति ७७ र भौतिक प्रगति ८५ प्रतिशत रहेको छ । धारापानी पुग्न सहज हुने दाङको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल धारापानी बर्षातको समय सुनसान हुन्थ्यो ।

बवई नदीमा आउने बाढीका कारण नागरिकलाई मन्दिरसम्म पुग्न कठिनाई हुन्थ्यो । बर्षातको समयमा गाडी पनि चल्न सक्दैनथे । ववई नदीमा पानी कम हुँदा दैनिक हजारौँ नागरिकहरु जाने ठाउँमा बर्षातमा सुनसान बन्ने गर्दथ्यो । बर्षातको समयमा आएको बाढीका कारण धारापानीमा पर्यटक भित्रन नसकेको गुनासो धारापानी मन्दिर व्यवस्थापन समितिले पटक पटक भन्दै आएको थियो ।

धारापानीको विकासका लागि पुलको आवश्यकता बर्षौ देखि थियो । अव भने बर्षातको समयमा पनि सहज रुप्मा धारापानी मन्दिर पुग्न सकिने भएको छ । भने नदीको बाटो जोखिम मोलेर यात्रा गर्ने त्यहाँका नागरिकको सास्ती हट्ने भएको छ ।


SHARE THIS