मेलम्चीको सुरुङमा पानी हालेर परीक्षण सुरु, समस्या नआए तीन महिनापछि काठमाण्डौमा पानी बाँड्न सकिने

  काठमाण्डौ, फागुन १० । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्न पानी हालिएको छ । खानेपानी मन्त्री मणिचन्द्र थापाले पानी खोलेर सुरुङ भर्ने कामको सुरुवात गर्नुभएको हो ।

साढे २६ किलोमिटर लामो सुरुङमा गएको असारमै पानी भनेर परीक्षण गरिएको थियो तर त्यसबेला हेलम्बु गाउँपालिका १ मा रहेको मुख्य गेट फुटेर दुर्घटना भएको थियो । दुर्घटनापछि गेटमा देखिएको त्रुटिलाई सुधार गरेर सोमवार फेरि परीक्षणको काम सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

एक जना इञ्जिनियर र एक जना चालकलाई बगाउने गरी भएको दुर्घटनापछि सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको फेरि जाँच र सुधार गरेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले बताउनुभयो । सम्भावित दुर्घटनालाई ध्यान दिएर विशेष सतर्कता अपनाएको र दुर्घटना भइहालेमा उद्धारका लागि हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको पनि उहाँले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाण्डौको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १५ देखि २० दिन लाग्ने आयोजनाले जनाएको छ । सुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी छाडिने छैन ।

परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रतिसेकेण्ड दुई सय ६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिनेछ । सुरुङमा पानी भरिएपछि झण्डै १० दिन यत्तिकै राख्ने र प्रतिसेकेण्ड दुई सय ६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ ।

पानी सबै फालिसकेपछि सुरुङको गुणस्तर फेरि परीक्षण गरिने आयोजनाले जनाएको छ । केही समस्या देखिए समाधान गरेर सुरुङमा नियमित पानी पठाइने प्रवक्ता पन्तले बताउनुभयो । यो पानी सुन्दरीजलमा तयार रहेका दुई वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने र यी सबै कामका लागि झण्डै तीन महिना लाग्ने प्रवक्ता पन्तले बताउनुभयो ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौ उपत्यकामा आउने आयोजनाले जनाएको छ ।

0/प्रतिक्रिया

Previous Post Next Post