भोलि देशव्यापी आम हड्ताल गर्ने प्रचण्ड-नेपाल समूहको घोषणा

 

दाङ, माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले भोलि बिहीवार देशव्यापी आम हड्तालको घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीवार हड्तालको घोषणा गरेको हो ।

बुधवार (आज) केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नुपरेको बताउनुभयो । यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द हुने भुसालले जानकारी दिनुभयो ।

त्रिविका धेरै तहका परीक्षा चलेकाले परीक्षा केन्द्र र परीक्षा दिन जाने विद्यार्थीका साधनलाई भने नरोकिने भुसालले बताउनुभयो ।


SHARE THIS