नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य द्रुत गतिमा

 

दाङ, फागुन ११ । दाङको नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाएको छ । पछिल्लो चार वर्षदेखि बजेटमा समावेश गरिँदै आएपनि चासो नदिइएको आयोजना संसद् विघटन गरेर चुनाव घोषणा गरेको सरकारले अहिले निर्माणमा तीव्रता दिएको हो ।

गत महिना प्रारम्भिक अध्ययन सकिएको आयोजनाका लागि विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अगाडि बढाउन पर्यटन मन्त्रालयमा प्रस्ताव पठाइएको छ । पर्यटन मन्त्रालयका अधिकारीहरूले दाङमा दोस्रो विमानस्थल उपयुक्त नदेखिएको भन्दै बनाउन नहुने निर्णय नगरेपछि पर्यटनमन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद्बाट निर्णय गराउने तयारी गर्नुभएको छ ।

टरीगाउँ विमानस्थलबाट १० किलोमिटरनजिक घोराही उपमहानगरपालिकाभित्र रहेको नारायणपुरमा दोस्रो विमानस्थल निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक अध्ययन सम्पन्न गरेर विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको तयारी प्राधिकरणले गरेको हो ।


प्राधिकरणले ५ करोड खर्च गरेर प्रारम्भिक प्रतिवेदन तयार पारिसकेको छ । अध्ययनले ७ अर्ब रुपैयाँ विमानस्थल निर्माणमा खर्च हुने अनुमानसमेत गरिएको छ । १६ सय मिटर लामो धावनमार्ग तयार पारिनेछ ।

प्रारम्भिक अध्ययनअनुसार विमानस्थल निर्माणका लागि ७ सय हेक्टर जमिनको मुआब्जा दिनुपर्ने हुन्छ । हालको विमानस्थल रहेको टारीगाउँ विमानस्थल विस्तार गर्न नसकिने निष्कर्षसमेत प्राधिकरणले निकालेको छ ।

अहिलेको विमानस्थल विस्तारका लागि ठूलो रकम मुआब्जामा खर्च हुने देखेर नयाँ विमानस्थल निर्माणलाई अगाडि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनुभयो ।


SHARE THIS