दाङमा बजारसँगै सवारी साधन ठप्प पार्दै सडकमै बन्दकर्ता



दाङ, माघ २२ । दाङमा बजारसँगै सवारी साधन ठप्प पार्दै बन्दकर्ता सडकमै देखिएका छन् । उनिहरुले छुटफुट रुपमा खुलेका पसलहरु तथा सवारीका साधन बन्द गराउदै हिडेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले आम हड्तालको समयमा आज सुरक्षा व्यवस्थालाई थप कडाई गरिएको जनाएको छ ।

आम हड्तालको प्रभाव दाङ र आसपासका जिल्लामा परेको छ । दाङमा अत्यावश्यक सवारी साधानबाहेक सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन् । प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन् । बस समितिका सबै काउन्टर बन्द छन् ।

जिल्लाका प्रमुख बजार तुलसीपुर, घोराही पनि बन्द नै छन् । आमहड्तालको पूर्व सन्ध्यामा दाहाल नेपाल समूहले जिल्लाका बिभिन्न शहरमा राँके जुलुस पर्दशन गर्दै कडा बन्दको चेतावनी दिएकाले सर्वसाधारणमा त्रास फैलिएको छ ।

सञ्चारकर्मी, स्वास्थ्यकर्मीलगाएतका सवारीका साधनलाई भने चल्ने दिएको छ । नेकपाको प्रचण्ड माधव समूहका कर्यकर्ताहरुले सवारी साधन रोख्ने, चावी खोस्ने तथा कहिकतै खुलेका पसलहरु समेत बन्द गराउदै हिडेका छन् । दाङमा बन्दको क्रममा बन्दकर्ताबाट कुनै अप्रिय घटना नभएको र शान्ति सुरक्षाका लागी धेरै मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सरकारले संवैधानिक निकायमा प्रक्रिया मिचेर एकतर्फी रुपमा नियुक्ति गरेको भन्दै नेकपाको प्रचण्ड नेपाल समूहले विरोधमा आज देशव्यापीरुपमा आम हड्तालको घोषणा गरेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड नेपाल समूहले आकस्मिक रुपमा आम हड्ताल घोषणा गरेको हो । यस्तै जिल्ला प्रहरी कार्यालयले दाङले आम हड्तालको समयमा आज सुरक्षा व्यवस्थालाई थप कडाई गरिएको र प्रहरी परिचालन गरेको जनाएको छ ।

सुरक्षित यात्राका लागी स्कटिङ गर्नु परेमा दाङभित्रका लागी दाङ प्रहरीलाई खवर गर्न पनि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले आग्रह गर्नुभएको छ ।


SHARE THIS