ओली पक्षको आज विराटनगरमा शक्ति प्रदर्शन, प्रधानमन्त्रीले सम्बोधन गर्दै

 काठमाडौँ, फाल्गुण ८ ।  प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जादै छन् । नेकपाको ओली पक्षले विराटनगरमा गर्न लागेको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

ओलीले सम्बोधन गर्ने विराटनगरको जनसभाका लागि व्यापक तयारी भैरहेको छ । विराटनगर–२ स्थित विराट नरसिङ होमपूर्व हुने जनसभाको तयारी भइरहेको छ ।

जनसभा सफल बनाउन स्थानीय तहदेखि प्रदेश सरकारको पनि साधन स्रोतको प्रयोग भैरहेको स्थानीयहरुले बताएका छन् । सरकारी गाडीदेखि लिएर अन्य साधन, स्रोतको पनि प्रयोग भैरहेको छ ।

जनसभालाई सफल बनाउन स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि देखि प्रदेशका सांसद र मन्त्री, मुख्यमन्त्री समेत लागिरहेका छन् । 

जनसभालाई सफल बनाउन ओली पक्षको नेकपा प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरिएको छ ।

कमिटीका सदस्यहरू सभास्थलदेखि लिएर जिल्ला जिल्लामा खटिरहेका छन् । सभामा प्रदेश नम्बर १ बाट १ लाख ३६ हजार बढी मानिसहरू जनभासमा उतार्ने तयारी ओली पक्षले गरेको छ ।

सभामा मानिस जम्मा गर्न १ नम्बर प्रदेशका सबै जिल्लामा बस लगायत अन्य यातायातका साधनहरू तयार गरिएको छ भने मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, भोजपुर र उदयपुरबाट बढी मानिस ल्याउने गरी तयारी ओली पक्षले गरेको छ ।

यस अघि ओली पक्षले काठमाडौँ र बुटवलमा जनसभा गरेको थियो । 


SHARE THIS