बिपन्न परिवारको पीडामा मल्हम लगाउँदै लुम्बिनी प्रदेश सरकार


दाङ, फागुन १३ ।
‘आर्थिक अभावका कारण सडकमा पुगेको मेरो परिवारलाई प्रदेश सरकारले सुरक्षित घर बनाइदिएको छ । कोही नहुनेको साहारा दैव हुन्छ भन्थे हाम्रो साहारा प्रदेश सरकार बनिदियो’, यो भनाई राप्ती गाउँपालिका वडा नम्वर १ का पिटे घर्तीको हो ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत घरबारविहीन पिटेको परिवार २ कोठे घर प्राप्त गरेसँगै हर्षित भएको छ ।

राप्ती गाउँपालिका वडा नम्वर १ ले उपलब्ध गराएको जग्गामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले घर निर्माण गरिदिएको भन्दै पिटेले चार सन्तान र आफू आवासको समस्यामा परिरहेको समयमा ठूलो राहत मिलेको बताउनुभयो । ‘लामो समयदेखि हामी घरबारविहीन अवस्थामा थियौं ।

हाम्रो पीडा देखेर वडाध्यक्ष ज्यूको पहलमा गाउँपालिकामा आएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सहयोगमा घर पाएका छौं’, खुसी हुँदै पिटेले भन्नुभयो, ‘जनताको पीडामा मल्हम लगाउने काम सरकारले गर्दोरैछ भन्ने विश्वास पलाएको छ । घर पाएपछि छोराछोरीलाई पढ्न सजिलो भएको छ । दिनभरि काम गरेर साँझ सुरक्षित बास बस्न पाइएको छ ।’

पिटेजस्तै राप्ती गाउँपालिका वडा नम्बर १ का अब्दुल दर्जीले पनि सुरक्षित आवास पाउनुभएको छ । ७० वर्षे दृष्टिविहीन अव्दुलको थोत्रिएर पुरानो भएको घरलाई भत्काएर मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गतको वजेटबाट दुई कोठे घर बनाइदिएपछि अव्दुल हर्षित हुनुभएको छ । ‘वडाध्यक्षको पहलमा नयाँ घर पाएको छु । पहिलेको घरमा पानी चुहिन्थ्यो, अहिले सजिलो भएको छ’, दर्जीले भन्नुभयो ।

पिटे र अव्दुलजस्तै बंगलाचुली गाउँपालिका १ का हुनाराम दशौदीका लागि पनि लुम्बिनी प्रदेश सरकार बरदान सावित भइदियो । गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको वजेटअन्तर्गत राहत तथा पुनःस्थापना शीर्षकमा वजेट बिनियोजन गरेर गाउँपालिकाले दुईकोठे घर बनाइदिएपछि हुनारामलाई हर्षित हुनुभएको छ ।

६८ वर्षे हुनारामका श्रीमान् श्रीमती घर नहुँदा आफन्त र छिमेकीको घरमा आश्रय लिँदै बस्नुभएको थियो । ‘लगातार परेको पानीले घर भत्किएपछि धेरै समस्या भएको थियो । कहिले कता कहिले कता बस्दाबस्दै हैरान भएको समयमा हाम्रो समस्या देखेर घर बनाइदिनुभएको छ । धेरै खुसी लागेको छ’, हुनारामले भन्नुभयो ।

पिटे, अव्दुल र हुनाराम त उदाहरण मात्रै हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारले बिपन्न परिवारका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनमा ल्याएसँगै आफ्नो साहारा बन्न प्रदेश सरकार आइपुगेकोमा स्थानीयहरु हर्षित भएका छन् ।

प्रदेश सरकारले गाउँपालिकामा पठाएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट बिपन्न परिवार लाभान्वित बन्दै गएको भन्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले प्रदेश र स्थानीय सरकारप्रति जनताले भरोसा गर्न थालेको बताउनुभयो ।

गाउँपालिकामा कार्यक्रमका लागि प्रदेश सरकारले पठाएको ५० लाख वजेटबाट गत आर्थिक वर्षमा ५ लाख रकम खर्चेर २ बिपन्न परिवारका लागि घर निर्माण गरेको भन्दै अध्यक्ष सुवेदीले अन्य रकमबाट स्वरोजगारी सिर्जनाका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

यता बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले चालु आर्थिक वर्षमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको २ लाखको वजेट गाउँपालिकाको वजेटबाट घरबारविहीन ६ वटा परिवारलाई सुरक्षित घर हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५÷२०७६ बाट लुम्बिनी प्रदेश सरकारले बिपन्न परिवारका लागि सञ्चालनमा ल्याएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत प्रदेशका सबै स्थानीय तहहरुले स्वरोजगार र सामाजिक उत्तरदायित्व वहनका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

यस वर्षदेखि नाम संशोधन गरेर मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम बनाएको लुम्बिनी प्रदेश सरकारले विषेश अनुदान शीर्षकमा हरेक गाउँपलिकालाई ६० लाख, नगरपालिकालाई ७० लाख र उपमहानगरपालिकालाई ८० लाख वजेट उपलब्ध गराउँदै आएको छ ।


SHARE THIS