सर्वोच्चले लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोग हराए झैँ भयो : बाबुराम भट्टराई

  काठमाण्डौ, फागुन ११ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेको खबर सुन्दा खुसी लागेको बताउनुभएको छ । 

मङ्गलवार प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्चको फैसलापछि नेता भट्टराईले यसलाई सुखद संयोग भएको बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, ‘कस्तो सुखद संयोग । अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खँदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो । ’

उहाँले सर्वोच्चले फैसला गर्दै लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोग हराए झैँ भएको टिप्पणी गर्नुभएको छ । 

‘हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैँ सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैँ भो ।’ उहाँले ट्विटरमा लेख्नुभएको छ ।   

गएको पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । रिटको सुनुवाइको लागि संवैधानिक इजलास गठन भएको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।      


SHARE THIS