काठमाण्डौ, फागुन ७ । म्यानमारमा भएको सैन्य कू पछि जारी विरोध प्रदर्शनमा २० वर्षीया महिला म्या त्वे त्वे काइङ्गको ज्यान गएको छ । गएको केही हप्तादेखि जारी विरोध प्रदर्शनमा पहिलो पटक कुनै प्रदर्शनकारीको ज्यान गएको हो ।
गएको हप्ता विरोध प्रदर्शनका भाग लिएकी म्या त्वे त्वे काइङ्ग प्रहरीले चलाएको गोली टाउकोमा लागेर घाइते भएकी थिइन् । प्रदर्शनकारीलाई तितरबितर बनाउन म्यानमारमा प्रहरीले पहिला पानीको फोहोरा र रबरको गोली पनि चलाएको थियो ।
म्यानमारमा सैन्य कू पछि लगातार विरोध प्रदर्शन जारी छ । सेनाले म्यानमारकी नेशनल डेमोक्रेसी पार्टी (एनएलडी) की नेतृ आङ सान सुकीको नेतृत्वको सरकारबाट सत्ता हत्याउँदै कू गरेको थियो ।
विरोध प्रदर्शनका क्रममा घाइते भएकी ती महिलाको नेपिडावको अस्पतालमा ज्यान गएको हो ।
म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेतालाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो । सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफै चुनाव गराउने भन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ ।
गएको नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले असन्तुष्टि जनाउँदै आएको थियो । म्यानमारमा भएकौ सैनिक ‘कू’ को विभिन्न देशले विरोध जनाइसकेका छन् ।