तुलसीपुरमा ११८ ग्राहकको बिद्युत लाईन काटियो



दाङ,माघ २२ । नेपाल विद्युत प्राधिकरण वितरण तुलसीपुर केन्द्रले लामो समयदेखि विद्युत महसुल नबुझाउने ग्राहकहरूको विद्युत लाईन काट्न सुरु गरेको छ । ठूलो रकम विद्युत बक्यौता रहन थालेपछि विद्युत कार्यालयले महसुल संकलनलाई तिव्रता दिनका लागि बिद्युत लाईन काट्न शुरु गरेको हो ।

महसुल नतिर्ने विद्युत उपभोक्ताहरूको दैनिक विद्युत लाईन काटिन थालेको छ । प्राधिकरणले हिजो मात्रै तुलसीपुर बजार क्षेत्रमा महसुल नतिर्ने ११८ जना ग्राहकहरूको विद्युत लाइन काटेको कार्यालयका प्रमुख जगन्नाथ लामिछानेले बताउनुुभयो ।

विद्युत महसुल बुझाउन ताकेता गर्दा समेत अटेर गर्ने ग्राहकहरूको लाइन काट्न सुरू गरेको उहाँको भनाई छ । विद्युत लाइन काटिएका ग्राहकहरूबाट ३२ लाख ७५ हजार ९४५ रूपैयाँ विद्युत महसुल उठाउन बाँकी रहेको थियो ।

विद्युत लाइन काटिए लगत्तै ३७ जना ग्राहकहरूबाट ९ लाख ३४ हजार ५७२ रूपैयाँ विद्युत महसुल संकलन भएको प्राधिकरण प्रमुख लामिछानेले जानकारी दिनुुभएको छ।


SHARE THIS