देउखुरीको नौमुरे बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन

 

दाङ, माघ २३ । देउखुरीको नौमुरे बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदा प्रतिवेदनको विषयमा सार्वजनिक सुनुवाइ गरिएको छ ।

नौमुरे बहुउद्देश्यीय आयोजना मार्फत प्युठान, अर्घाखाँची र कपिलवस्तुबाट दुई सय ८१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको आयोजनाका लागि राप्ती नदीको लामातालमा एक सय ६९ मिटर अग्लो ड्याम निर्माण गरिने भएको छ ।

यसको मुख्य उद्देश्य विद्युत् उत्पादन, सिँचाईको व्यवस्था, बाढी नियन्त्रण, जैविक विविधता संरक्षण, जलाशय निर्माण गरि र्‍याफ्टिङ, माछा पालनलगायतका नमुना आयोजना सञ्चालन गर्दै लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकालाई नमुना सहर बनाउन मदत पुर्‍याउनु रहेको छ ।यो आयोजना प्युठानको सरुमारानि गाउँपालिकाको ३, अर्घाखाँचीको शीतगङ्गा नगरपालिका ७ र ११ त्यसैगरि कपिलवस्तुको शिवराज नगरपालिका १ मा स्थायी संरचना निर्माण गरि सुरु गरिने बताइएको छ ।

जलाशय बनाएर झिमरुक नदीको ऐरावती गाउँपालिकासम्म र माण्डवी गाउँपालिकाको देवीस्थान नयाँ गाउँसम्म सञ्चालन गर्न सकिने विभिन्न सम्भावनाका विषयमा अध्ययन गरिएको आयोजनाले अहिलेको पानीको अवस्था, सिँचाइको अवस्थामा समस्या नल्याउने भन्दै विगतमा आएका विभिन्न आशङ्कालाई चिर्ने गरि वास्तविक प्रतिवेदन निर्माण भएको विद्युत् विकास विभागका गौरीप्रसाद शाहले जानकारी दिनुभएको छ ।


SHARE THIS