प्रवेशपत्र देखाएर परीक्षा दिन जानेहरूलाई रोक्दैनौँ : नेतृ भुसाल

  काठमाण्डौ, माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीवारका लागि आम हड्ताल घोषणा गरेपछि चौतर्फी आलोचना भइरहेको छ । सिर्जनात्मक आन्दोलनको साटो बन्द हड्तालमा उत्रिएर पुरानै राजनीतिक चरित्र देखाएको भन्दै विरोध भएको छ ।  

बिहीवारको बन्दले परीक्षा दिन जाने विद्यार्थी मर्कामा पर्ने देखिएपछि प्रचण्ड–नेपाल समूहले प्रवेशपत्र देखाउने विद्यार्थीलाई नरोक्ने र उनीहरुका सवारी साधनलाई पनि चल्न दिने जनाएको छ । 

‘हामीसँग अरू विकल्प नै नभएर हड्तालमा जानुपरेको हो, परीक्षा हुने विद्यार्थीले प्रवेशपत्र देखाउनुभयो भने हाम्रा कार्यकर्ताले रोकतोक गर्दैनन्’, स्थायी कमिटी सदस्य पम्फा भुसालले भन्नुभयो । 

प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीवार हड्तालको घोषणा गरेको हो । 

बुधवार (आज) केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नुपरेको बताउनुभयो ।


SHARE THIS