प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई सोध्यो– ‘विवाद नै नसुल्झाइ कसरी चुनाव हुन्छ ?

  काठमाण्डौ, फागुन २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले विवाद नै नसुल्झाइ कसरी चुनाव हुन्छ भनेर निर्वाचन आयोगलाई सोधेको छ । आफ्नो समूहमा ६४ प्रतिशत मत रहेको दाबीसहित नेकपाको प्रचण्ड–माधव समूहले पहिला विवाद समाधान गर्न आयोगलाई सुझाव दिएको छ । 

निर्वाचन आयोगले आचारसंहिताबारे आइतवार (आज) गरेको छलफलमा नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले विवाद समाधान गरेर मात्रै चुनावमा जानुपर्नेमा जोड दिएको जानकारी दिनुभयो । छलफलका लागि आयोग पुगेको नेकपाको प्रचण्ड–नेपाल समूहले सुरुमै पार्टीको विवाद समाधानबारे चासो राखेको हो ।

गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।

यसअघि गएको माघ १६ गते आयोगले नेकपाको केपी शर्मा ओली समूह र प्रचण्ड–नेपाल समूहलाई विवाद र चुनावको तयारीबारे छलफल गर्न बोलाएको थियो । त्यसलगत्तै प्रचण्ड–नेपाल समूहले आयोगमा आफ्नो आधिकारिकता पेस गरेको छ । नेकपाका दुवै समूहले आफूहरु नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएका छन् । तर दुवै समूहले गरेको निर्णयलाई आयोगले अस्वीकार गरेको छ । 

सरकारले आउँदो वैशाख १७ र २७ गतेका लागि प्रतिनिधि सभाको चुनावको मिति तोकेको छ । निर्वाचन आयोगले चुनावको तयारी र आचारसंहिताका बारेमा आइतवार दलहरूसँग छलफल गरेको हो ।

निर्वाचन आचारसंहिताको मस्यौदा तयार भइसकेको र मस्यौदाबारे दलहरूसँग छलफल थालेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । राजनीतिक दलहरूसँगको छलफलपछि आयोगले आचारसंहिता सार्वजनिक गर्ने तयारी गरेको छ । 


SHARE THIS