घोराही-तुलसीपुर सडकखण्ड फोरलेनको काम सुस्त गतिमा

 

दाङ, फागुन १४  । घोराही-तुलसीपुर सडकखण्डमा फोरलेनको काम सुस्त गतिमा अघि बढेको छ । घोराही-तुलसीपुर सडक खण्डलाई फराकिलो बनाउन फोर लेन सडकको आयोजना अघि सारिएको हो । घोराहीको कुइरे पानीदेखि तुलसीपुरसम्मको २८ किलोमिटर सडक फोरलेनको योजनाभित्र समेरिएको हो ।

जसमध्ये १४ किलोमिटर सडक फोर लेन अर्थात २१ मिटर चौडा र १४ किलोमिटर सडक टु लेन अर्थात ११ मिटर चौडा बनाउने गरी सम्झौता भयो । तर अहिले टु लेन सडकलाई समेत फोर लेनअनुसार बनाउन सुझाव आयो । यो सुझावको आधारमा काम अघि बढाउन खोज्दा टु लेनभित्र पर्ने सडक निर्माणको काम अघि बढ्न सकेको छैन ।

टु लेनको काम हुने सडकलाई फोर लेन बनाउन सर्भेको काम भइरहेको सडक सुधार तथा विकास आयोजना कार्यालय लमहीका इञ्जिनियर पारशमणि हमालले जानकारी दिनुभयो । यो आयोजना अनुसार काम गर्न सरकारले दातृ निकायको सहयोगमा बजेटको प्रबन्धसमेत गरेको हो । अहिले यो सडक क्षेत्रको भौतिक प्रगति जम्मा सात प्रतिशत छ ।

डेढ वर्ष अघिदेखि शुरु भएको सडक आयोजनाको काममा लमही-घोराही-तुलसीपुर सडकको कामले तीब्रता नपाउँदा भौतिक प्रगति थोरै भएको पाइएको हो । यो सडकखण्डको निर्माणका लागि एक अर्ब ३० करोड बजेट रहेको छ ।

३६ महिनामा काम सम्पन्न गर्ने पहिलो सम्झौता थियो । तर अहिले थप दुई वर्ष म्याद थप भएको छ तर काम सुस्त गतिमा अघि बढ्दै गएको छ ।



SHARE THIS