नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, आजै आयोग जाने सम्भावना कम

  काठमाण्डौ, फागुन ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा केन्द्रीय कमिटीको बैठक बस्ने नेता लीलामणि पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो ।

बैठकमा पार्टीको आधिकारिकता दाबी, निर्वाचन आयोगमा आफूहरुको उपस्थिति सर्वोच्च अदालतले गर्न सक्ने फैसलालगायतका बारेमा छलफल हुने नेता पोखरेलको भनाइ छ । नेकपाको प्रचण्ड-नेपाल समूहले सबै सदस्यलाई नागरिकता र पार्टीको परिचयपत्र लिएर पेरिसडाँडामा  उपस्थित हुन भनेको छ ।

बहुमत सदस्यको नागरिकता र पार्टीको परिचयपत्र बोकेर दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आज नै आयोग जाने भनिए पनि आज नै आयोग जाने सम्भावना भने कम रहेको नेकपाको प्रचण्ड-नेपाल समूहका नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभा विघटनपछि चौथो चरणको आन्दोलनमा रहेको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा वैधानिकताका लागि निवेदन दिएको छ । तर आयोगले यसबारे कुनै चासो नदेखाएको भन्दै प्रचण्ड(नेपाल समूह असन्तुष्ट छ । आयोगले मध्यावधि चुनावको तयारीलाई भने अघि बढाएको छ । 

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरेपछि नेकपाको प्रचण्ड-नेपाल समूह असन्तुष्ट छ । 


SHARE THIS