२५० किलो गाँजासहित दुई जना यसरी पक्राउ परे

 

  सुनसरी, माघ २१ । सुनसरीको इनरुवा नगरपालिका २ बलाहा नहरबाट दुई सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । को १ च ९८५२ नम्बरको जीपमा ठूलो परिणाममा गाँजा तस्करी भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गाडीका चालक भोजपुर हतुवागढी गाउँपालिका ९ का २७ वर्षीय अर्जुन खड्का र गाडीमा सवार धरान नगरपालिका १ का २६ वर्षीय ज्याक्सन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट २५० केजी गाँजा, नगद एक लाख ५४ हजार रुपैयाँ र एक थान खुकुरी बरामद भएको जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान भइरहेको  छ ।

यसरी पक्राउ पर्‍यो 

प्रहरीलाई एउटा सुराकी आयो– ठूलो परिमाणको गाँजासहित जीप नहरको बाटो हुँदै आउँदैछ । प्रहरी निरीक्षकसहितको कमाण्डमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली खटियो । इनरुवा बलाहा नजिकैको नहरमा प्रहरी टोलीले ब्यारिकेटसहित चेकिङ राखेर त्यो जीपको खोजी थाल्यो । बराह क्षेत्रबाट आएको जीपले प्रहरीले राखेको ब्यारिकेट लडाएर भाग्यो ।

ब्यारिकेटलाई क्षति गरि फरार भएको जीपलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक कमल थापाको कमाण्डमा खटिएको प्रहरी टोली परिचालित भयो । प्रहरी उपरीक्षकको कमाण्डमा रहेको टोलीले ब्यारिकेट लडाएर भागेको जीपलाई नियन्त्रण लिन एक राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ ।

जीप भाग्ने क्रममा को १ ब २४३६ र को १ ब २१०५ नम्बरको मोटरसाइकललाई समेत क्षति पुर्‍याएको तथा एक जना प्रहरीसमेत घाइते भएका छन् । कोशी पुलबाट भागेको जीपलाई बलाहा नहरबाट राति नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयो । 


SHARE THIS