बेलझुण्डी खानेपानीमा ३६ करोडको आयोजना लागु

 

तुलसीपुर, माघ २० । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सहलगानी खानेपानी तथा सरसफाई आयोजना लागु हुने भएको छ । ३६ करोड २ लाख १० हजार ६ सय ९० रुपैयाँ लगानीको उक्त आयोजना कार्यान्वयन गराउन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्ज, तुलसीपुर उपमहागनरपालिका र बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबिच सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको छ ।

उपमहानगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम पाण्डे, आयोजनाको तर्फबाट मनिष कुमार राज, खानेपानीको तर्फबाट प्रदिप गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
कुल ३६ करोड मध्य २० प्रतिशत जनश्रमदान, ५ प्रतिशत आयोजना लागुहुने क्षेत्रका उपभोक्ता र ५ प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ उपमहागनरपालिकाले ऋणस्वरुप दिने तुलसीपुर उपमहागनरपालिका–१८ का वडाध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।


आयोजना चालु आर्थिक बर्ष २०७७÷०७८ बाट सुरु भई आगामी आर्थिक बर्ष २०८०÷०८१मा सम्पन्न गर्नुपर्ने छ । कुल लागतको ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत उपभोक्ता वा संस्थाले व्यहोर्नुपर्ने छ ।

नगरप्रमुख घनश्याम पाण्डेले सम्झौतापछि एक घर एक धारा भन्ने सरकारको नीतिलाई सहयोग पुग्नेगरी ऐतिहासीक काम भएको बताउनुभयो । स्थानीय तह मध्य सम्झौतामा हस्ताक्षर गर्ने र ठूलो ऋण प्रवाह गर्ने तुलसीपुर उपमहागनरपालिका नेपालमै पहिलो स्थानीय तह भएको बताउनुभयो । बेझलुण्डी, तुलसीपुर र अमृतपुर खानेपानीको आयोजना सम्पन्न भएकामा तुलसीपुर क्षेत्रमा खानेपानीको आधारभूत आवश्यकता पुरा हुने नगर प्रमुख पाण्डेले बताउनुभयो । सो अवसरमा बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदिप गौतमले उपमहानगरपालिकाले अभिभावकीय जिम्मेवारी पुरा गरेकोमा प्रशंसा गर्दै उपभोक्ताको तर्फबाट धनयवाद दिनुभयो ।


SHARE THIS