प्रवासी युवाहरूले सिस्‍नेमा राहत कोष खडा गरे


रुकुम (पूर्व), माघ २१ । वैदेशिक रोजगारमा रहेका युवाहरूले आर्थिक सहयोग गरी रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ मा राहत कोष खडा गरेका छन्‌। वडा कार्यालयको समन्वयमा राहत कोष खडा गरिएको हो। 

सिस्ने–३ पोखरा घर भई हाल वैदेशिक रोजगारको सिलसिलामा अमेरिका रहेका सुधीर ओली, पुष्पजंग केसी, रविन्द्र केसी र कृष्णबहादुर खड्का लगायत ३३ जना युवाले वडामा विपन्न घर परिवार, विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले वडामा राहत कोष स्थापना गरिएको वडाध्यक्ष पशुपति खड्काले जानकारी दिए। उक्त राहत कोष स्थापना भए देखि हालसम्म २ लाख २ हजार रुपैयाँ जम्मा भएको वडाध्यक्ष खड्काले बताए।

उनका अनुसार उक्त रकमले हाल गाउँमा विपत्तिमा परेका र विपन्न परिवारलाई सहयोग गर्ने काम भइरहेको छ। जसमा मंगलबार क्यान्सर बिरामी सिस्ने–४ का भीमबहादुर केसी उपचारको क्रममा मृत्यु भएको घर परिवारलाई १० हजार रुपैयाँ सहयोग गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए।

यसैगरी वडामा खडा गरिएको राहत कोषबाट हाल सम्ममा पाँच जना व्यक्तिलाई आर्थिक सहयोग र जिल्लामा कोरोना भाइरस संक्रमणको समयमा वडाबासीलाई ८ सय ७ पीस सर्जिकल मास्क वितरण गरिएको छ। सिस्ने–३ का जंङ्गे ढमाई र तिलकुमारी सार्कीको घर आगलागी हुँदा नगद २५/२५ हजार रुपैयाँ सहयोग गरिएको छ भने, सोही वडाकै विपन्न परिवारका काली खत्री र सुनिता नेपालीलाई नगद ५/५ हजार रुपैयाँ सहयोग गरिएको छ।

हालसम्म राहत कोष खडा गरिएको कोषबाट ९० हजार एक सय ७५ रुपैयाँको सहयोग गरिएको छ। राहत कोषमा रकम जुट्ने क्रम जारी नै रहेकोमा हाल कोषमा एक लाख ११ हजार आठ सय २५ रुपैयाँ बाँकी रहेको वडाले जनाएको छ।


SHARE THIS