काठमाण्डौ, माघ १५ । आबुधाबी टी–१० क्रिकेट लिगमा नेपालका बलर सोमपाल कामी सहभागी मराठा अरेबियन्सले विजयी सुरुवात गरेको छ ।
आबुधाबीमा नर्दन वारियर्सले दिएको एक सय २८ रनको लक्ष्य मराठा अरेबियन्सले पाँच विकेट गुमाएर अन्तिम बलमा पूरा गर्यो । अरेबियन्सका लागि अब्दुल सकुरले २८ बलमा ७३ रन बनाए भने मोहम्मद हफिजले आठ बलमा १९ रन जोडे । नर्दन वारियर्सका फबिन एलेनले दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको वारियर्सले १० ओभरमा दुई विकेट गुमाउँदै एक सय २७ रन बनाएको थियो । वारियर्सका लागि लेन्डी सिमन्सले ५४ रन बनाए भने ब्राण्डन किङले २९ रन जोडे । अरेबियन्सका लागि मुक्तर अलीले एक विकेट लिए । सोमपालले दुई ओभर बलिङ गरेर २८ रन दिए ।
टी–१० लिगको यस संस्करणमा नेपालका पारस खड्का मेन्टरको रूपमा तथा कुशल मल्ल, सोमपाल कामी र करण केसी खेलाडीका रूपमा सहभागी छन् ।