वेष्टब्रोमको पोष्टमा ५ गोल गर्दै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

दाङ, माघ १४ । वेष्टब्रोमलाई पराजित गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ ।

गएराति भएको खेलमा सिटीले वेष्टब्रोमलाई उसैको मैदानमा ५-० ले पराजित गरेको हो । सिटीको लागि गुन्डागोनले दुई गोल गरे । यस्तै जाओ कान्सेलो, रियाद महारेज र रहिम स्टर्लिङले एकएक गोल गरे ।

खेलको छैटौं मिनेटमै गुन्डागोने गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । कान्सेलोले २०औं मिनेटमा अग्रता दोबर पारे । गुन्डागोनले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफको इन्जुरी टाइममा महारेजले गोल गर्दै सिटीलाई ४-० अग्रता दिलाए ।

दोस्रो हाफमा सिटीले एक गोल मात्र थप्यो । ५७औं मिनेटमा स्टरलिङले गोल गरे ।

जितपछि १९ खेलबाट ४१ अंक जोडेको सिटीले म्यानचेष्टर युनाइटेडलाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो । समान खेलबाट युनाइटेडको ४० अंक छ ।

यस्तै क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्दै वेष्टह्याम चौथो स्थानमा उक्लेको छ । वेष्टह्यामका लागि टोमस साउसेकले दुई तथा क्रेग डवसनले एक गोल गरे । क्रिस्टल प्यालेसका लागि लफ्रेड जाहा र मिची बात्सुईले गोल गरे ।

जितपछि वेष्टह्यामले२० खेलबाट ३५ अंक जोडेको छ । १९ खेलबाट ३४ अंक रहेको साविक विजेता लिभरपुल पाँचौ स्थानमा झरेको छ ।

यस्तै लण्डन क्लब आर्सनलले साउथह्याम्पटनमाथि ३-१ को पुनरागमन जित हात पारेको छ । तीन दिनअघि साउथह्याम्पटनसँग पराजित हुँदै एफए कपबाट बाहिरिएको आर्सनलले त्यसको बदलासमेत लिएको छ ।

घरेलु मैदानमा स्टुअर्ट आम्सट्रङले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर आठौं मिनेटमा निकोलस पेपेले आर्सनलका लागि बराबरी गोल फर्काए । ३९औं मिनेटमा बुकाया साकोले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । अलेक्जान्डर लाकाजेटले ७२औं मिनेटमा गोल गरेपछि आर्सनल ३-१ ले विजयी भयो ।


SHARE THIS