प्रचण्ड-माधव समूहलाई सडकमा आन्दोलन छाडी निर्वाचनमा लाग्न मुख्यमन्त्री पोखरेलको सुझाव

 


दाङ, पुस २४ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद् विघटन गरेको बताएका छन् । 

कपिलवस्तुमा निर्माण भएको क्षेत्रीय यातायात सडक (आरटिओ) रोडको बिहिबार विजयनगर गाउँपालिका–५ खडैचामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सडकमा आन्दोलन गरिरहेका प्रचण्ड माधव समूहका नेतालाई निर्वाचनमा लाग्न सुझाव दिए ।

मुख्यमन्त्री पोखरेलले हुलाकी मार्गले मधेशको विकासमा महत्वपूर्ण हुनेसमेत बताए । प्रदेश सरकारको महत्वपूर्ण कार्यको रुपमा हुलाकी सडक रहेकाले यो सडक निर्माण पश्चात नागरिकको जीवनस्तर परिवर्तन हुने साथै प्रदेशको स्थायी राजधानीसँग जोडिएको कृष्णनगर भन्सारको स्तरोन्नति गरिने उनले बताए । 

भौतिक पूर्वधार विकासमन्त्री बैजनाथ चौधरीले पहिलो वर्ष प्रदेश सरकारले सबै भन्दा ठूलो बजेट ‘आरटिओ’ सडकलाई विनियोजन गरेर काम सम्पन्न गरेको बताए । जिल्लाको पश्चिमी क्षेत्रमा तीन वटा जलाशाय निर्माण गरी सिँचाइको लागि वातावरण सिर्जना गर्ने प्रदेश सरकारको योजना शुरु भएको समेत उनको भनाइ थियो ।मुख्यमन्त्री पोखरेलले कपिलवस्तुमा सिँचाइको लागि नौमुरे सिँचाइ योजनाको काम अघि बढेकाले यसले जिल्लाको सिँचाइको समस्यालाई समाधान गर्ने बताए । सुकुम्वासी बस्तीको बाहुल्यता रहेको विजयनगरवासीलाई अहिलेकै सरकारले लालपुर्जा दिने उनले बताए । 

खोलानालामा लिफ्ट सिँचाइको काम तीव्र रुपमा अघि बढेको बताउँदै पहिलो वर्ष ५४ वटा पुल निर्माण, दोस्रो वर्ष ३३ वटा र अहिले २७३ वटा पुलको डिपीआर काम शुरु भएको मन्त्री चौधरीले बताए ।  

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले आरटिओ सडक निर्माणले स्थानीयलाई सहज भएको बताए ।

लुम्बिनी प्रदेश सरकारको लागतमा कृष्णनगर आरटिओ सडक फराकिलो बनाइ कालोपत्रे भएपछि स्थानीयलाई यातायातको सहज भएको छ । ११ किलोमिटर सडक निमार्णमा प्रदेश सरकारले रु १५ करोड ७७ लाख रकम खर्च भएको छ ।


SHARE THIS