नेकपाको केन्द्रिय समितिमा एक तिहाई महिलाको सहभागीता गराउँछु, महिला भएकै कारण राष्ट्रपतिको अपमान गरियो



काठमाडौ, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको केन्द्रिय समितिमा कम्तीमा एक तिहाई महिलाको सहभागीता हुने प्रतिबद्धता जनाएका छन् । उनले नेपाली राजनीतिमा महिला सहभागीता विश्वकै लागि उदाहरणीय भएको उल्लेख गर्दै पार्टीमा कम्तीमा एक तिहाई सहभागीता निश्चित गर्ने बताएका छन् ।

अखिल नेपाल महिला संघ केन्द्रिय समितिको दोस्रो बैठकमा सहभागी भएका मुलुकभरका महिला नेताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले राजनीतिक रुपमा सार्वजनिक अभिब्यक्ती दिन नमिल्ने र शालिन भएका कारण राष्ट्रपतिलाई बारम्बार आक्रमण भइरहेको बताएका छन् ।

उनले राजनीतिक मैदानमा उत्रन नमिल्ने पद भएका कारण राष्ट्रपति विरुद्ध लागेको बताउँदै प्रधानमन्त्री ओलीले आफुसंग प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् । उनले राष्ट्रपतिलाई महिला भएकै कारण बारम्बार हेपिएको बताएका छन् । राष्ट्रपति जस्तो महिलालाई त यति धेरै चुनौती छ, यति धेरै शालिन र रुखो सुखो नबोल्ने राष्ट्रपति पाउँदा पनि यति धेरै अपमान भइरहेको छ प्रधानमन्त्री ओलीले भने ।

राष्ट्रपतिले बोल्न मिल्दैन भनेर उहाँ माथि आक्रमण भइरहेको छ, हिम्मत हुनेहरु म संग आउनुस् म सबै कुराको जवाफ दिन तयार छु, प्रधानमन्त्री ओलीले भने, प्रधानमन्त्रीका हैसियतले गरेका मेरा सबै काम कानुनी छन् । उनले महिला नेताहरुलाई निर्वाचनको माहौल बनाउन र राजनीतिमा नेतृत्व लिन अग्रसर हुन आग्रह गरेका छन् ।


SHARE THIS