दाङमा आज २ सय १२ जनाले कोरोना बिरुद्दको खोप लगाए

 

दाङ, माघ १४ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि दाङमा पनि पहिलो चरणको खोप लगाउन आजबाट शुरु गरिएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही र प्रादेशिक अस्पताल तुलसीपुरका स्वास्थ्यकर्मीहरुलाई खोप लगाई कार्यक्रमको सुरुवात गरिएको हो ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डा. सागर पन्थि र प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले सबैभन्दा पहिला खोप लगाएर खोप कार्यक्रमको सुरुवात गर्नुभएको हो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट एक सय २० जना र प्रादेशिक अस्पतालबाट ९२ जनाले खोप लगाएका छन् ।

पहिलो चरणमा स्वास्थ्य उपचारको अग्रपंतीमा खटेर काम गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, संक्रमणबाट मृत्युभएकाहरुको शब व्यवस्थापनमा खटेकाहरु तथा बृद्धाआश्रमका जेष्ठ नागरिकहरुलाई खोप लगाउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।

दाङमा ३ हजार भन्दा धेरै नागरिकलाई लगाउन पुग्ने ६ हजार ५ सय ९३ डोज खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो ।पर्सीबाट पालिकास्तरका स्वास्थ्यकर्मी, सफाईकर्मी लगाएतका कर्मचारीलाई खोप लगाउन सुरु गर्ने कार्यक्रम छ । पहिलो चरणमा तथ्यांक संकलन गर्दा दाङमा २ हजार ८ सय ७० जनालाई खोप लगाईने भएको छ ।

प्रमुख जिल्ला अधिकारी आचार्यको अध्यक्षतामा आज बसेको कोरोना अनुगमन तथा व्यवस्थापन समिति बैठकले १० दिन भित्र पहिलो चरणमा खोप लगाईसक्ने, खोप कार्यक्रमलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

दाङसहित देशभरका १ सय २० केन्द्रबाट आज देखी खोप अभियान सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप दिइने र आज मात्रै १२ हजार व्यक्तिले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


SHARE THIS