भारतबाट आउनेलाई अनिवार्य कोरोना परिक्षण रिर्पोट

 

दाङ, माघ १८ । नयाँ कोरोना भाइरस फैलन नदिनका लागि भारत लगायतका देशबाट आउने नागरिकलाई दाङ भित्रन कडाई गरिएको छ । विश्वका देशमा नयाँ कोरोना भाइरस संक्रमण देखिएकोले स्थलमार्ग हुँदै दाङ भित्रने नागरिकलाई कम्तिमा ७२ घण्टाभित्रको कोरोना परिक्षण रिर्पोट अनिवार्य गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले आज एक विज्ञप्ती जारी गरी भारतबाट आउने नागरिकले नाकामा ७२ घण्टाभित्रको कोरोना परिक्षण रिर्पोट दिनुपर्ने व्यवस्था अनिवार्य गरिएको उल्लेख छ ।

विज्ञप्तीमा अनलाइन फारम भर्न नसकेका नागरिकले सिमा नाकामा स्वास्थ्य परिक्षण गर्दाकै अवस्थामा अनलाइन फाराम भर्नुपर्ने उल्लेख गरिएको छ ।कोइलाबास नाका हुँदै आउने नागरिकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको वेबसाइट सिसिएमसी डट जिओभि डट एनपीमा रहेको अब्रोट रिटर्नी मेनेजमेन्ट सिस्टम फाराम अनिवार्य भर्नुपर्ने र त्यसको बाककोर्ड लिएर आउनुपर्ने भनिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जारी गर्नुभएको विज्ञप्तीमा सिमा नाकामा स्वास्थ्य परिक्षणको क्रममा लक्षण देखिएका नागरिकलाई अस्पतालमा पठाउने र अन्य व्यक्तिलाई पालिकासंग समन्वय गरी १० दिन सम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख छ ।

0/प्रतिक्रिया

Previous Post Next Post