सडकबत्तिको विद्युत महशुल बुझाउन तुलसीपुर उपमहानगरको आनाकानी

 


जीतसागर जी.एम.

दाङ, माघ १९ । तुलसीपुर उपमहानगरपालिकाले विद्युत महशुल बुझाउन आनाकानी गरेको देखिएको छ । उपमहानगरले आर्थिक वर्ष २०७४÷२०७५ देखि हालसम्मको विद्युत महशुल नबुझाएको हो ।

संघिय व्यवस्था कार्यान्वयन भएसंगै तुलसीपुर उपमहानगरपालिकाले विद्युत महशुल नबुझाएको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख जगन्ननाथ लामिछानेले जानकारी दिनुभयो ।

वक्यौता रकम बुझाउनका लागि उपमहानगरलाई पटक–पटक ताकेता गरेपनि करिब तीन वर्षदेखि रकम बुझाउन आनाकानी गरेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो । सडक बत्ति वाफतको रकम भएकाले पनि उपमहानगरले महशुल बुझाउन आनाकानी गरेको उहाँको भनाई छ । अब पनि महशुलको विषयमा आनकानी भएमा बत्ति काटिदिने प्रमुख लामिछानेले बताउनुभयो ।उपमहानगरले अहिलेसम्म ६७ लाख बढी विद्युत महशुल बुझाउन आनाकानी गरेको प्रमुख लामिछानेले बताउनुभयो । आर्थिक वर्ष २०७४÷२०७५ देखि हालसम्म उपमहानगरको नाममा ६७ लाख ७२ हजार १९४ रकम विद्युत महशुल वक्यौता रहेको कार्यालयले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विद्युत प्राधिकरणले पनि उपमहानगरलाई कर बुझाउनुपर्ने भएका कारण अहिले सडक बत्तिको महशुल नबुझाएको बताउनुभयो । उहाँले प्राधिकरणले विद्युतका पोल राखेको पनि कर बुझाउने सहमति भएपछि उपमहानगरले महशुल बुझाउन सक्ने बताउनुभयो ।

तुलसीपुर वितरण केन्द्रमा माघ १६ गतेसम्मको तथ्यांक अनुसार ६ करोड ७४ लाख ७७ हजार ५७ रुपैँया विद्युत बक्यौता देखिएको छ । लामो समयदेखि विद्यतु महशुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारीमा रहेको लामिछानेले बताउनुभयो । पश्चिम क्षेत्रमा ५० हजार बढी महशुल बक्यौता रहेका ८२ उद्योग तथा व्यक्ति रहेको उहाँले जानकारी दिनुभयो ।

यसैबिच तुलसीपुरमा चालु आर्थिक वर्षमा विद्युत चोरी गर्ने ५१५ जनालाई कार्बाही गरिएको उहाँले जानकारी दिनुभयो । विद्युत चुहावट रोक्नका लागि प्राधिकरणले सक्रियता बढाएको र यसवर्ष ५ सय बढीलाई कार्बाही गरिएको उहाँको भनाई छ । कार्बाहीबाट १४ लाख २२ हजार बढी राजश्व संकलन गरिएको छ ।


SHARE THIS