प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्न माग



काठमाडौं, पुस २१ । प्रतिनिधिसभा विघटनको मुद्दा बृहत् इजलासले हेर्नुपर्ने भन्दै कानुन व्यवायीहरुले सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

पुस ८ गते प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गरेका कञ्चनकृष्ण न्यौपानेसहितका अधिवक्ताहरुले निवेदन दिँदै प्रतिनिधिसभा विघटनको मुद्दा बृहत् इजलासले हेर्नुपर्ने माग गरेका हुन् ।

उनीहरुले संयुक्त रुपमा संवैधानिक इजलासमा विचाराधीन मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै रिट महाशाखामा निवेदन बुझाएका छन् । अधिवक्ता न्यौपाने आफूहरुले निवेदन शाखाका प्रमुख बाबुराम दाहाललाई बुझाएको र भोलि संवैधानिक इजलासमा निवेदन पेस गर्ने जवाफ पाएको बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलास र संवैधानिक इजलासमा पनि बहसकै क्रममा पनि अधिक्ताहरुले सो विषय बृहत् पूर्ण इजलासमा लैजान माग गरेका थिए । प्रतिनिधिसभा विघटनसम्बन्धी करिब दर्जन रिट प्रधानन्यायाधीश राणाको एकल इजलासले सवैधानिक इजलासमा पठाएको थियो । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा भोलिबाट संवैधानिक इजलासमा नियमित सुनुवाइका लागि पेसी छ ।


SHARE THIS