ऐतिहासिक रामजानकी विवाह मण्डप बन्यो गाईगोठ

 

विवाह मण्डप भित्र बनाइएको गाईगोठ र फालिएको फोहोर पराल । तस्बिर : मनिका झा

मनिका झा

जनकपुरधाम, पुस २३ । जनकपुर घुम्न आउने पर्यटक वा श्रद्धालुका लागि घुमफिर गर्ने आकर्षक थलोहरुमध्ये एक हो रामजानकी विवाह मण्डप ।

annapurna post

राम-सीताको वैवाहिक परम्परालाई सचित्र व्याख्या गर्नेगरी विवाह मण्डपको निर्माण गरिएको छ यहाँ । सुन्दर बगैंचा र मनमोहक फूलहरुले पेगोडा शैलीको मन्दिरलाई अझ सुन्दर बनाउँछ । १० रुपैयाँ प्रतिव्यक्ति शुल्क तिरेर टिकट काटेर मात्रै विवाह मण्डपमा सर्वसाधारणलाई प्रवेश दिइन्छ ।

यो आकर्षक ऐतिहासिक र मनमोहक पर्यटकीय स्थल पछिल्लो समय भने गाई गोठमा बदलिएको छ । जानकी मन्दिरको अधिनमा रहेको विवाह मण्डप भित्र महन्थ रामतपेश्वर दासले करिब ३० वटा गाईहरु राख्ने गोठ नै निर्माण गरेका छन् । 
गोठमा राखिएका गाईहरुको मलमुत्रको दुर्गन्धले मण्डप घुम्न आउनेहरुलाई नरमाइलो त हुन्छ नै चारैतिर फालिएको पराल र बिस्कुनहरुले विवाह मण्डपलाई कुरुप बनाएको छ ।

‘जनकपुरमा एक त पर्यटक लोभ्याउने स्थलहरु नै जानकी मन्दिर र यो विवाह मण्डप मात्रै हो । यो ऐतिहासिक स्थलहरुलाई अझ सुन्दर बनाउनुको सट्टा महन्थहरुको मनोमानी क्रियाकलापले कुरुप बनाउने काम भइरहेको छ,’स्थानीय दिलिप साह भन्छन् ।

साहका अनुसार पहिले महन्थका गाईहरु मडहा पोखरीको डिलमा अवस्थित गौशालामा राखिने गरिन्थ्यो । तर, अतिक्रमण हटाउने क्रममा उक्त गौशाला हटाइएपछि गाईहरुलाई पछिल्लो तीन वर्षदेखि मडवामै छाप्रो बनाएर राखिएको छ । 

महन्थ दासले विवाह मण्डप सञ्चालनका लागि भने प्रतिवर्ष अमानती ठेक्का लगाउने गर्छन् । २५ देखि ३० लाख सम्ममा ठेक्का लाग्छ । ठेक्का पाउनेले निर्धारित रकम महन्थलाई दिएर बचेको मुनाफा आफैं राख्ने गर्छन् । हाल विवाह मण्डपको व्यवस्थापनको ठेक्का पाएका सन्तोष साहले आफूहरु कर्मचारीको बन्दोबस्त मात्रै मिलाउने गरेको र अन्य सबै क्रियाकलापहरु महन्थबाटै सञ्चालित रहेको बताउँछन् ।

‘हामी त टिकट काउन्टरमा मान्छे राख्ने, फूलहरुको संरक्षण गर्ने र संरचना हेरचाह गर्ने जिम्मेवार मात्रै छौं अरु त्यस भित्र गाई राख्ने हो कि के गर्ने हो त्यसको बारेमा महन्थज्यूले नै निर्णय लिनु हुन्छ,’ साहले भने । 

गाईहरुलाई राख्ने ठाउँ नभएपछि विवाह मण्डपमा सेड बनाएर राखिएको महन्थ दास बताउँछन् । ‘श्रद्धालुहरुले जवरजस्ती गाई मन्दिरलाई दान दिन्छन् । कतिपयले पाल्न नसकेपछि यहाँ ल्याएर राखिदिन्छन् अनि गाईहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो त्यसैले विवाह मण्डपमै राखेको छु,’ महन्थ दासले अन्नपूर्णसँग भने, ‘यी गाईहरुबाट संकलित दुध केही मन्दिरको भोग प्रयोजनको लागि पनि प्रयोग हुन्छ र बाँकी विक्री गरेर त्यसैबाट तिनको दानापानीको व्यवस्था गर्दै आएको छु ।’

२०१६ सालमा सन्त स्वामी नवलकिशोर दासले विवाह मण्डप निर्माणको परिकल्पना गरेका थिए । उनले त्यसै बेला भारतको राजस्थान तथा अन्य शहरहरुमा गई भगवानको मूर्तिहरु संकलन गरेका थिए ।

२०२० सालमा तत्कालिन महन्थ रामसरण दासले राजा महेन्द्र विर विक्रम शाहलाई विन्ती पत्र चढाएर विवाह मण्डप निर्माणका लागि अनुरोध गरे । सोही बेलादेखी मण्डप निर्माणको काम सुरु भएको थियो । २०४२ सालमा तत्कालिन राजा विरेन्द्रले निर्माणाधिन विवाह मण्डपको काम सम्पन्न गराउन १० लाख रुपैयाँ सहयोग गरेका थिए । र राजा विरेन्द्रकै हातबाट विवाह मण्डपको शिलान्यास पनि भएको थियो ।

मन्दिरभित्र राम-सीताको विवाहका बेला जन्ती बनेर आर्शिवाद दिन आएका भगवान र ऋषिमुनीहरुको मूर्तिलाई निकै आकर्षक रुपमा सजाएर राखिएको छ ।





SHARE THIS