पर्यटक लोभ्याउने पाटे बाघ, जनतालाई त्रास

 

बर्दिया, पुस २५ । बाघ संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज निकै महत्वपूर्ण स्थानको रुपमा चिनिन्छ । निकुञ्जमा वर्षेनी बाघको संख्या बढ्दै जाँदा संरक्षणकर्मी निकै उत्साहित पनि छन् । बाघ अवलोकनकै लागि निकुञ्जमा वर्षेनी पर्यटकको चाप पनि बढ्दो छ । बाघकै कारण बर्दिया निकुञ्ज विश्वमा परिचित पनि हुँदै गएको छ ।

तर पछिल्लो समय पर्यटक लोभ्याउने त्यही बाघ जनताको त्रास भएको छ । एक साता अघि पुस १७ गते बेलुका निकुञ्ज भित्र पर्ने अम्रेनी चिसापानी खण्डको पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलमै झम्टेर बाघले एक जना महिलाको ज्यान लियो । महिला आफनो छोरासँगै मोटरसाइकलमा सवार थिइन् । महिलाको शव करिव १२ घण्टा पछि निकुञ्ज भित्र क्षतविक्षत अवस्थामा फेला पर्यो । दुई दशक अघि पनि सोही स्थानमा एक पुरुषलाई मोटरसाइकलबाटै पाटे बाघले झम्टेर ज्यान लगेको थियो । केही वर्ष अघि ठाकुरबाबा–४ सैनवारका एक युवालाई पनि हात्तीले कुल्चेर मारेको थियो । राजमार्गमा सवारीसाधनमा हिड्दै गर्दा पनि बाघले आक्रमण गर्न थालेपछि यहाँ त्रास बढेको छ ।

पाटे बाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर ज्यान लिएको ठाउँ अम्रनी चिसापानी राजमार्गको आसपासमा हिजोआज हरेक दिन विहान, दिउँसो र रातीमा बाघ देखिने गरेको संरक्षणकर्मी बताउँछन् । हिजोआज दिउँसै राजमार्गमा बाघ विचरण गरेको देखिन्छ । जसका कारण राजमार्गमा यात्रा गर्ने यात्रु निकै त्रसित हुने गरेका छन् । पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गको रम्मापुर–सैनवार र अम्रेनी– कर्णाली चिसापानी सडक खण्डमा बाघलगाएत अन्य वन्यजन्तुको जोखिम बढी छ । यसैगरि हुलाकी सडकको खाता करिडोर क्षेत्रमा पनि बाघको जोखिम बढेको स्थानियबासी बताउँछन् ।

पाटे बाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर ज्यान लिएको ठाउँ अम्रनी चिसापानी राजमार्गको आसपासमा हिजोआज हरेक दिन विहान, दिउँसो र रातीमा बाघ देखिने गरेको संरक्षणकर्मी बताउँछन्

स्थानिय पर्यटन व्यवसायी रेशम थापा भन्छन्,‘ निकुञ्जमा बाघ देखिनु सुखद् खबर त हो । तर बाघले राजमार्गमा गाडीमै आक्रमण गरेर मानिसको ज्यान लिनु निकै चिन्ताको विषय हो । यसको व्यवस्थापन बारे निकुञ्जले तत्काल पहल थाल्नु पर्छ । ’
राजमार्गमा बाघले आक्रमण गर्न थालेपछि निकुञ्ज प्रशासनले तत्काल मोटरसाइकल, साइकल र पैदल यात्रुलाई बेलुका ८ बजेदेखि विहान ६ बजेसम्म ओहोरदोहोरमा रोक लगाएको छ । तर, यो उपाय दिर्घकालिन नभएको स्थानियबासी बताउँछन् । स्थानिय युवराज शर्मा अधिकारी भन्छन्, ‘राजमार्गमा आवतजावत रोकेर समस्या समाधान हुदैन । यसका लागि निकुञ्जले दिगो व्यवस्थापनको उपाए तत्काल खोज्नु पर्छ । ’

राजमार्गमा बाघको त्रासका कारण मोटरसाइकलबाट यात्रा गर्नेहरु वैकल्पिक बाटोबाट लामो यात्रा गर्न बाध्य भएका छन् । मोटरसाइकल यात्रुहरु राजमार्ग छाडेर हुलाकीबाट लामो यात्रा गरेर गन्तब्यमा पुग्ने गरेका छन् । बर्दियामा पछिल्लो ५ महिनाको अवधीमा निकुञ्ज मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वनमा पाटे बाघको आक्रमणबाट ७ जनाले ज्यान गुमाएका छन् । भने पछिल्लो २ वर्षको अवधीमा बाघ आक्रमणबाट १४ जनाको ज्यान गएको छ ।

पाटे बाघलगायत वन्यजन्तुबाट हुने क्षती कम गर्न दिगो व्यवस्थानका लागि सरकारले बैकल्पीक उपाय खोज्नु पर्ने चौतर्फी आवाज उठ्न थालेको छ । निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा वन्यजन्तुमैत्री संरचना बनाउन आवश्यक रहेको बर्दिया निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापा बताउँछन् ।

सडक विभागले बजार क्षेत्रमा पुर्व पश्चिम राजमार्गको दाँयाबाँया ३१/३१ मिटर सडक खाली गराउँदै आएको छ । तर निकुञ्ज भित्र पर्ने राजमार्ग क्षेत्रमा भने दाँयाबाँया ३१/३१ मिटर सडक खाली गर्ने काम सडक विभागले गरेको छैन । यसले गर्दा पनि राजमार्गमा वन्यजन्तुको जोखिम बढेको छ । निकुञ्ज भित्र राजमार्ग किनारमा रुख विरुवा र घाँसले ढाकेको छ । वन्यजन्तु त्यहीँ घाँसमा बसिरहेको हुन्छ । गाडीको आवाज सुनेपछि जनावर तर्सिन्छ अनि गाडीमा ठोक्कीने र आक्रमण गर्ने जोखिम हुने गरेको संरक्षणकर्मीको भनाई छ । निकुञ्ज क्षेत्र भित्र पर्ने राजमार्गमा वन्यजन्तुमैत्री संरचना नबनुन्जेलसम्म निकुञ्ज भित्र पर्ने राजमार्ग किनारका रुख, विरुवा र घाँस तत्काल काट्न जरुरी रहेको बर्दिया निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत थापा बताउँछन् ।

निकुञ्ज भित्र पर्ने राजमार्गमा पाटे बाघ हिँडिरहेको फोटो र भिडियोहरु यतिबेला सामाजिक संजालमा आइरहेका छन् । बाघ देख्ने बित्तिकै गाडी रोकेर जिस्काउने तथा फोटो र भिडियो खिच्दा जोखिम हुने भएकाले त्यस्तो कार्य गर्न नहुने राष्ट्रिय प्रकृती संरक्षण कोष बर्दियाका प्रमुख डा. रविन कडरीया बताउँछन् ।

भनिन्छ एकपटक मान्छे खाएको बाघले फेरी मान्छे खान खोज्छ । त्यसैले पनि पाटे बाघले स्थानीयको ज्यान लिने क्रम बढेपछी मान्छे खान पल्केको दुई वटा बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिइसकेको छ । मान्छे मार्न पल्किएको अर्को बाघ पनि डिभिजन वन कार्यालयले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । मोटरसाइकलमा सवार महिलाको ज्यान लिने बाघलाई पनि पहिचान गरि नियन्त्रणमा लिने प्रयास थालिएको निकुञ्जले जनाएको छ ।

राजमार्ग सवारीसाधनबाटै बाघले मान्छे झम्टेर लैजान थालेपछि संरक्षणमा निकै चुनौती थपिएको संरक्षणकर्मीहरु बताउँछन् । राजमार्ग क्षेत्रमा वन्यजन्तुबाट मानविय क्षती कम गर्नका लागि राजमार्गमा वन्यजन्तु मैत्री संरचना निमार्णका लागि विभागमा पहल भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । सन् २०१८ को बाघ गणना अनुसार बर्दिया निकुञ्जमा ८७ वटा वयस्क पाटे बाघ छन् ।


SHARE THIS