बन्द कोठाको खासखुसले अदालत प्रभावित नहोस् : थापा

टोपराज शर्मा

बुटवल, माघ ८ । नेपाली कांग्रेसका नेता गगन थापाले अदालत र न्यायाधीशहरुलाई धर्म नछाड्न आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दापछि सर्वोच्चमा पुगेपछि अदालत परीक्षामा रहेको भन्दै नेता थापाले संविधानमा टेकेर निर्णय गर्न न्यायाधीशहरुसंग आग्रह गरे ।

प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले बुटवलमा गरेको सभामा बोल्दै थापाले बन्द कोठाभित्रको खासखुस र बाहिरको कुराले अदालत प्रभावित हुन नहुनेमा जोड दिए ।

अदालत यतिबेला परीक्षामा छ, यसप्रतिको आस्था र विश्वास रहोस्’–थापाले भने, ‘बन्द कोठाभित्रको खासखुस र बाहिरको हल्लाले अदालत प्रभावित नहोस् ।’

अमेरिकामा डोनाल्ड ट्रम्पले नियुक्त गरेका न्यायाधीशहरुले उनले भने अनुसार फैसला नगरेर आफ्नो धर्म नछाडेको उदाहरण दिंदै थापाले भने, ‘यहाँ पनि धर्म नछाडियोस्, संविधानमा टेकेर विवेक पु¥याएर न्याय गरियोस् ।’ संविधान लेख्दा नशामा लठ्ठ परेर नलेखेको भन्दै नेता थापाले न्यायाधीशहरु संविधानप्रतिको कर्तव्यबोधले मात्रै प्रभावित हुनुपर्ने आग्रह गरे ।

‘संविधानमा कहीँ कतै बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भन्ने उल्लेख छैन । त्यसैले पनि पूर्वप्रधानन्यायाधीशहरू समेत एक ठाउँमा उभिएर बोलेका हुन्, यसबाट पनि प्रष्ट हुन्छ कि ओलीको कदम असंवैधानिक मात्र होइन अनधिकृत पनि हो’ उनले भने ।

सर्वोच्च अदालते संसद पुनःस्थापनको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले संसद पुनःस्थापना भएपछि मात्र चुनावको कुरा गर्नुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य थापाले संसद विघटनसम्बन्धी मुद्दाको फैसला छिटो गर्न पनि आग्रह गरे । ‘अहिले पुनःस्थापना कि चुनाव भन्ने होइन, संविधानको पक्षमा हो कि हैन भन्ने हो’–पार्टी नेतृत्वप्रति इंगित गर्दै थापाले भने–‘संसद पुनःस्थापना भएपछि मात्रै चुनावको कुरा आउँछ ।’

प्रधानमन्त्री ओलीको अहंकारका कारण प्रतिनिधि सभा विघटन गरेर देशलाई दुर्घटनातर्फ लगेको बताउँदै उनले जनतामाझ माफी माग्नुपर्ने औंल्याए । ओलीमा योग्यता र सपना होइन, अहंकार र खोक्रो विश्वास मात्र भएको थापाले टिप्पणी गरे ।


SHARE THIS