तुलसीपुर,माघ १४ । कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ ।दाङमा आज बढीमा ३२५ जनालाई कोरोना खोप लगाइने भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट खोप लगाइएको हो ।
घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सय जना र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा १२५ जनालाई कोरोना विरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनु भएको छ । उनका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सागर पन्थीले पहिलो खोप लगाएर खोप अभियानको उद्घाटन गरेका छन् ।
खोप उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चाय, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गणेश चन्द लगायतको उपस्थिती रहेको थियो । साथै प्रतिष्ठानबाट आज २०० बढीलाई खोप लगाइने चन्दको भनाइ छ । आज प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई खोप दिइदै छ । बाँकीलाई भोलिदेखि खोप दिइने छ । खोप अभियान १० दिन सम्म सञ्चालन हुने छ ।
त्यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अस्पतालका मेडिकल सुपरिटेन्डेट डा.विनोद सिंहले पहिलो खोप लगाएर उद्घाटन गर्नु भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । उनका अनुसार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मीलाई खोप दिइदैछ ।
साथै तुलसीपुरमा आज र भोलि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मीलाई खोप दिइने छ भने पर्सी देखि तुलसीपुर उपमहानगरपालिका अन्र्तगतका स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगायतलाई खोप दिने केसीले बताए । साथै तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालबाट १२५ जनालाई खोप दिइने उनको भनाइ छ ।
दाङ जिल्लामा ६ हजार डोज कोरोना विरुद्धको खोप आएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जयनारायण आर्चायले बताए । दाङमा पहिलो चरणमा तिन हजार व्यक्तिका लागी ६ हजार डोज खोप आएको छ । “२८ सय ७० जनाको नामावली संकलन गरेका छौं, तीन हजार जनशक्तिलाई हुने गरी ६ हजार डोज खोप आएको छ । यो खोप एक पटक खोलिसकेपछि नसकिदा सम्म प्रयोग गर्नु पर्ने भएकोले आज र भोलि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल र घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी सरसफाइकर्मीलाई खोप दिइने छ भने पर्सिदेखि अन्य पालिकाका स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई दिइने छ उनले भने ।”
एक व्यक्तिलाई दुई पटक खोप दिईने भएकाले २८ दिन पछि पुनः दोस्रो चरणको खोप दिईने प्रमुख आर्चायले बताए । पहिलो दिन खोप केन्द्र रहेको अस्पतालका चिकित्सक, नर्स, सरसफाईकर्मी लगाएतले खोप लगाउने छन् । त्यस्तैगरी पालिका स्तरका स्वाथ्यकर्मीहरुलाई भने पर्सी (शुक्रबार) देखि खोप दिईने उनले बताए ।
अहिले जिल्लाका तिन अस्पतालबाट खोप लगाउने तयारी गरिएको छ । खोपका लागि पश्चिम दाङका चार वटा पालिकाको खोप केन्द्र राप्ती प्रादेशिक अस्पताल (तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र दंगिशरण गाउँपालिका), बंगलाचुली गाउँपालिका, घोराही उपमहानगरपालिका र स्वास्थ्य कार्यालय दाङको खोप केन्द्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र देउखुरी क्षेत्रका पालिका ( लमही नगरपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिका) लागि लमही अस्पताललाई केन्द्र बनाइएको प्रमुख आचार्यले जानकारी दिए ।
साथै दाङमा पहिलो चरणमा तीन हजार बढीलाई कोरोना खोप लगाइने उनको भनाइ छ । पहिलो चरणमा खोप लगाएकाहरुले खोप लगाएको चार हप्ता पछि पुनः दोस्रो चरणको खोेप लगाउन पर्ने हुन्छ । भारत सरकारले नेपाल सरकारलाई १० लाख कोरोना विरुद्धको खोप अनुदानमा दिएको थियो ।
Post a Comment