जुम्लाको हिमा गाउँपालिकाको केन्द्र बाजागाडा तोकियो

 

जुम्ला, माघ १६ । लामो समयदेखि विवादमा रहेको हिमा गाउँपालिकाको केन्द्र टुङ्गो लागेको छ । गाउँपालिकाको आठौँ सभाले गाउँपालिकाको केन्द्र बाजागाडा तोकेको हो । गाउँपालिका अध्यक्ष रजबहादुर शाही नागरिकलाई समावेशीरुपमा सेवा लिने हिसाबले गाउँ सभा यो निर्णयमा पुगेको बताउनुभयो ।  

प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलका अनुसार गाउँपालिकाको वडा नम्बर ५ को बाजागाडामा जग्गा लिने तयारी भइरहेको छ । यस प्रक्रियामा जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयको सहयोगको अपेक्षा रहेको उहाँले जानकारी गर्नुभयो । 

त्यस्तै गाउँ सभाले वडा नम्बर १ को केन्द्र देवार गाउँमा सार्ने निर्णयसमेत गरेको छ । वडा नम्बर १ का चार जना सदस्यले वडाको केन्द्र सार्ने विषयमा असहमत रहेको बताएका छन् । वडा सदस्य पदबहादुर शाहीले वडामा छलफल भइरहेको समयमा गाउँपालिकाले हस्तक्षप गरेको बताउनुभयो ।

गाउँपालिकाले भने बड्की र आचार्यलिहीको बीचमा देवार गाउँ भएकाले पायक पर्ने बताएको छ ।

0/प्रतिक्रिया

Previous Post Next Post