वामदेवको एकता अभियानको औपचारीक घोषणामा प्रधानमन्त्री ओली र प्रचण्डलाई निम्ता, को-को पुगे कार्यक्रममा ?

 

काठमाडौं, माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि दुई अनौपचारीक रुपमा नेकपा विभाजन भएपनि नेकपा उपाध्यक्ष वामदेव गौतम भने पार्टी एकता अभियानमा लागेका छन् । उनले बुधवार ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका छन् । कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का समुहका पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाएको बताइएको छ ।

कार्यक्रम सुरु भएको केही बेर सम्म उनीहरु सहभागी भने भएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भए पनि गौतम कुनै समूहमा नलागी आफ्नै नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्न लागेका हुन्।

बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रमका साथ एकता अभियानको घोषणा गरेका हुन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरि पराजुली, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, पूर्व सांसद माया ज्ञवाली, बागमी प्रदेशका प्रदेशसभा सदस्य विनोद खड्का सहभागी भए ।

त्यस्तै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्राडा। हीराबहादुर महर्जन लगायतका सहभागी भएका छन् । कार्यक्रममा सहभागीलाई पार्टी एकता राष्ट्रिय अभियान अवधारणापत्र हस्तान्तरण गरिएको छ। उपाध्यक्ष गौतमले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताउँदै नेकपालाई फेरि एकजुट बनाउनका लागि पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेको बताउँदै आएका छन्।


SHARE THIS