इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको ज्यान गयो, दुई घाइते

  इलाम, माघ १४ । इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । इलामबाट झापा जाँदै गरेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा २८ वर्षीया अञ्जु आचार्यको बुधबार घटनास्थलमै ज्यान गएको हो । 

ट्रकले ठक्कर दिँदा ४२ वर्षीय मोटरसाइकल चालक उमेश साह र मृतककी दुई वर्षीय छोरा सरोज आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घाइते साह सूर्योदय नगरपालिका १० का हुन् भने मृतक आचार्य र उनका छोरा माइजोगमाई गाउँपालिका ३ का रहेको बताइएको छ । 

प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी लालध्वज सुवेदीका अनुसार को १८ प ६९७ नम्बरको मोटरसाइकललाई त्यही दिशाबाट गइरहेको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ना ३ ख २७३२ नम्बरको ट्रक र चालक ३६ वर्षीय भवानीप्रसाद तिम्सिनालाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ । 

मृतकको शव पोस्टमार्टमका लागि इलाम अस्पताल ल्याइएको छ भने गम्भीर घाइते भएका आचार्य र साहलाई उपचारका लागि झापा पठाइएको सुवेदीले जानकारी दिनुभयो । 


SHARE THIS